अछाममा आएकोे बाढीमा पुरिएका थप एकको शव भेटियो, १० जना अझै बेपत्ता

   ७ भाद्र २०७७, आईतवार ११:०६  

भदौ ७, रौतहट । अछाममा आएको बाढीमा पुरिएका थप १ जनाको शव फेला परेको छ । अछामको रामारोशन गाउँपालिका ५ कैलाशखोलामा आएको बाढीमा पुरिएका १७ जनामध्ये शनिबार थप एक जनाको शव भेटिएको छ ।

रामारोशन ५ र ६ को बीचमा पर्ने झोलुङ्ग पुल नजिक अन्दाजी १८ वर्षका रमेश साउदको शव फेला परेको छ, र शनिबारसम्म ७ जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । तर, अहिले अन्य १० शवको खोजी जारी नै रहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख तथा नायब उपरीक्षक योगेन्द्रसिंह थापाले बताए ।

बाढीले बगाएर मृत्यु हुनेहरुमा रामारोशन–५ का १५ वर्षीय नवीन साउद, सोही वडा बस्ने ३३ वर्षीया गौरी शाह, सोही ठाउँ बस्ने २२ वर्षीया बबिता बुढाऐर, ४५ वर्षीय अम्मर शाह, ४५ वर्षीया लालसर शाही तथा ४८ वर्षीय चन्द्र साउद छन ।

यही भदौ ३ गते बुधबार आएको बाढीका कारण बगेर १७ बेपत्ता भएका थिए । बेपत्ता भएकाको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली बुधबारदेखि नै खटिएको छ । उक्त बाढीपहिराका कारण बेपत्ता भएका १७ मध्ये छ शव बुधबार दिउँसो फेला परेको थियो भने एक जनाको शनिबार फेला परेको हो ।

गृहमन्त्री रामबहादुर थापासहितको टोलीले कैलाशखोलाको बाढी प्रभावित क्षेत्रको शुक्रबार स्थलगत निरीक्षण गरेको थियो । अविरल वर्षासँगै उक्त खोलामा आएको बाढीले अछाममा ठूलो जनधनको क्षति गरेपछि मन्त्री थापासहितको टोली स्थलगत निरीक्षणका लागि त्यहाँ पुगेको हो । बाढीले वेपत्ता भएकाहरुका परिवारसँग उक्त टोलीले भेटघाट गरेको थियो ।

निरीक्षणका क्रममा गृहमन्त्री थापाले पीडित परिवारलाई उचित राहत र क्षतिपूर्तिको व्यवस्था गरिने प्रतिबद्धता व्यक्त गरेका थिए । उक्त टोलीमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, पूर्वउपप्रधान तथा गृहमन्त्री मन्त्री डा. भीम रावललगायत थिए ।