रौतहटमा १५ गते सम्म निशेधाज्ञा, लकडाउन भने फितलो

   ७ भाद्र २०७७, आईतवार ११:०८  

७ भदौं, रौतहट । कोरोना भाइरस (कोविड १९) को संक्रमण समुदाय स्तरमै फैलिन थालेपछि रौतहट प्रशासनले भदौ ७ सम्मको निषेधाज्ञा थप एक साताको लागी लम्बाएको छ ।

समुदाय एवं सर्वसाधारणमा कोरोना संक्रमणको जोखिम कम गर्न स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ तथा संक्रमण रोग ऐन, २०२० को दफा २ बमोजिम भदौ १ देखी ७ गते सम्मका लागी रौतहट जिल्ला भरी निषेधाज्ञा जारी गरेको थियो । यो अवधिमा कोरोना संक्रमितहरु बढेको र संक्रमण थप फैलन सक्ने भन्दै प्रशासनले निषेधाज्ञालाई भदौ ८ देखी १५ गते सम्म एक साता थपेको हो ।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा अत्यावश्यक काम बाहेक कुनै पनि व्यक्तिलाई घर बाहिर निस्कन निषेध गरेको छ । स्वास्थ्य, विद्युत, दुरसंचार, खानेपाी, दुध, फोहर मैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, औषधी, खाद्यान्न, तरकारी आपूर्ति बाहेकका अन्य सवै निकाय र सेवालाई पनि निषेध गरिएको छ भने एम्बुलेन्स, सव वाहन, दमकल लगायत सवारी पास प्राप्त सवारी साधनलाई मात्र संचालनको अनुमति दिएको छ ।

केही सहुलियत सहित जारी गरिएको लकडाउनमा खाद्यान्न, निर्माण सामग्रीका पसल तथा बैंकहरु बिहान ७ देखी ११ बजे सम्म संचालनको छुट दिएको छ । नेपाल सरकारद्धारा जारी भएको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको पालना गर्ने शर्तमा सो सहुलियत प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । निषेधाज्ञाको उल्लंघन गर्नेलाई ऐन बमोजिम कारवाही हुने समेत उनले बताए ।

रौतहटमा पछिल्लो समय समुदाय स्तरमै संक्रमितको संख्यामा वृद्धि हुदाँ पनि लकडाउन पालनमा खासै भएको देखिदैन । सदरमुकाम गौरमै पनि दिनभरी जसो मानिसहरुको आवतजावत जारी रहेको छ । साँझपख जिल्लाका विभिन्न स्थान तथा गौरकै सबै भन्दा बढी संक्रमित वडा नं. ५ मै तरकारी बजार लाग्ने गरेको छ भने गाँउघरका भित्रि सडकहरुमा प्रहरीको गस्ती तथा निगरानी हुने गरेको छैन ।