पुजारीको हत्यारा खोज्दै ‘जंगे’

   ४ भाद्र २०७७, बिहीबार १२:३७  

४ भदौं, रौतहट । बुधवार राति रौतहटको माधवनारायण नगरपालिका २ खेसरहियामा गोलि हानेर हत्या गरिएका मन्दीरको पुजारीको हत्यारा खोज्न प्रहरीले अनुसन्धान तिव्र बनाएको छ ।

गए राति खाना खाइरहेका बेला हनुमान मन्दिरका पुजारी श्रीराम साहलाई अज्ञात व्यक्तिले गोलि प्रहार गरेको थियो । बायाँ कन्चटमा गोलि लागेका पुजारीको घटना स्थलमै मृत्यु भए पछि प्रहरीले सो इलाकालाई सिल गरेर अनुसन्धान शुरु गरेको हो । टाउकोमा एक राउण्ड गोली लागेका साहको शवलाई पोष्टमार्टमाका लागी जिल्ला अस्पताल गौर लगिएको छ ।

हत्याको अनुसन्धानमा सहयोगका लागी जिल्ला प्रहरी कार्यालय रौतहटले प्रदेश प्रहरी कार्यालयबाट आज बिहान कुकुर ‘जंगे’ मगाएको छ । घटनास्थलमा ल्याइएको जंगेको सहयोगमा प्रहरीले अनुसन्धान कार्य अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । घटनास्थल बस्ती भन्दा केही टाढा रहेको र पुजारी एक्लै भएको अवश्थामा गोली प्रहार भएको थियो ।

हत्या भएका पुजारीको कसैसँग पनि रिसिवी नरहेको र उनले आफ्नै लगानीमा मन्दीर निर्माण गरेर पुजापाठ गर्दै आएको वडा नं. २ का वडाअध्यक्ष हनुमान सहनीले बताए । श्रीमतीको मृत्यु पछि पुजापाठमा लागेका पुजारीको भाइका परिवारहरु गाँउमै रहेको उनले बताए । हत्यामा सँलग्नहरुलाई कडा कारवाही गर्नु पर्ने उनले बताए ।

“घटनामा संलग्नहरुलाई चाडै हामी नियन्त्रणमा लिन्छौंं ।” जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी रविराज खडकाले भने “घटना अहिले अनुसंन्धानकै क्रममा रहेकोले धेरै कुरा खोल्न अहिले नबोलौं ।” शव नजिकबाट गन्ध पछयाउदै हिडेको जंगे नजिकैको करुनिया गाँउमा पुगेको थियो ।

यस भन्दा अघि गत साउन ३२ मा पनि रौतहटको गरुडा नगरपालिका वडा नं. ८ जिगंडवामा धारिलो हतियार प्रयोग गरेर २० वर्षिय निरजंन रामको हत्या भएको थियो । सो हत्याको अनुसन्धानका लागी पनि प्रहरीले जंगेलाई प्रयोग गरेको थियो ।

घाटि रेटेर गरिएको हत्यामा सँलग्नहरुलाई प्रहरीले पक्राउ गरि सकेको छ । उनीहरुलाई आजै पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिने तयारी छ ।