धन्यवाद कोरोना, तिमीले मान्छे चिनायौं ।

   ३ भाद्र २०७७, बुधबार १४:५९  

आर एन साह
३ भदौं, रौतहट । मेरो अवस्था सामान्य थियो तर ठूलो दाईलाई १०१ डिग्री ज्वरो आएको थियो । ज्वरो एक हप्ता सम्म ठिक नभए पछि कोरोना लागेको पो हो की भन्ने मनमा शंका उत्पन्न भयो ।

साउन २७ गते गौर नगरपालिकाका मै स्वाब संकलन हुने जानकारी पाए पछि दाजुको र आफ्नो पनि स्वाब परिक्षण गराउनु पर्ने लाग्यो र त्यही सोचले गौर नगरपालिकामा पिसिआर परिक्षणमा हामी दुवै जना सहभागी भयौं । हामी नगरपालिका पुग्दा कर्मचारी तथा अन्यले पनि स्वाब दिनका लागी आफ्नो पालो कुर्दै थिए । स्वाब दिने बेला सम्म म पुरै समान्य अवस्थामै थिए । हामी दुबै दाजुभाइले स्वाब दिएर घर आयौं । कोविड १९ भाइरसको परिक्षण रिपोर्ट नआउदा सम्म हामी संगै घरमा बस्यौं ।

स्वाब दिएको ठिक दुईदिन पछि आएको रिपोर्टलाई विश्वास गर्नै गाह्रो भयो । ठूलो दाईको रिपोर्ट निगेटिभ र मेरो चाहि पोजेटिभ आयो । दिमाग पूरै फनफनी घुम्यो, मस्तीष्क शून्य भए जस्तो, केही होसै नभए जस्तो भयो । शायद अरुले पनि म पोजेटिभ भएको थाहा पाइसकेका थिए । सामाजिक संजालमा गौरका एक संचारकर्मी पनि पोजेटिभ भन्ने पोष्टहरु आउन थाले । समान्य मान्छेको पोजिटिभ तर ज्वरो आएर परिक्षण गराउन गएको दाईको निगेटिभ रिपोर्ट देखेर मनमा करोडौ प्रश्नहरु एक साथ उठन थाल्यो ।

रौतहटको गौर बाट पत्रकारीता गर्ने मेरो रिपोर्ट पोजेटिभ आए पछि त्यो दिनदेखी मेरो दिनचर्या पूरै फेरिएको छ । घरमा म समेत १२ जनाको परिवार छ । घरको छतको एक कोठामा म होम आइसोलेसनमा बसेको छु । म संक्रमित भएको आज पाचौं दिन हो तर संक्रमण भए देखि म कहाँ छु कुन अवश्थामा छु भनेर कसैले खोजीनिती गरेको छैन । संक्रमित भए पछि आइसोलेसनमा लगेर छुट्टै राखेको समाचारहरु मैले दर्जनौं पटक लेखेको थिए तर आफै संक्रमित हुदा कुनै स्वास्थ्यकर्मी वा स्थानिय प्रशासनले एक पटक फोन गरेर सोधेको समेत छैन ।

शायद राज्यले आफ्नो भार कम गरेको छ । महामारीका बेला अप्ठ्यारोमा परेका जनतालाइ सहयोग गर्नुको सट्टा होम आइसोलेसन भन्दै भगवान भरोसामा घरमै छोडेर जिम्मेवारीबाट पन्छीएको छ । आइसोलेसन संचालन गरेर सरकारको खर्च बढाउनु भन्दा जनतालाई घरमै छोडेर केही रकम पक्कै जोगाएको छ मेरो सरकारले तर भोलि घर–घरमा, बस्ती, गाँउटोल हुदै देशभरीको घरमा यो कोरोनाको डढेलो सल्क्यो भने के हुन्छ भन्ने बुझेको छैन ।

सरकारले काठमाण्डौका सुकिला मुकिलाको महल देखेरर होम आइसोलेसन निर्णय गर्दा गाँउघरमा खुल्ला स्थानमा गएर चर्पी बसेर खरानीले हात पखाल्ने भुईमान्छेको बारेमा सोच्नै भुल्यो । होम आइसोलेसनमा राख्नु भन्दा पहिले संक्रमितको घरको अवश्था के छ ? होम आइसोलेसनको मापदण्डमा पर्छ की पर्दैन भन्ने समेत वास्ता नगर्ने कस्तो सरकार हो ? १२ जना भएको घरमा पुरै परिवारको लागि एउटा मात्र ट्वाइलेट र एक मात्र खाने पानीको ह्यान्ड पाइपले मेरो लागी विकराल समस्या उत्पन्न भएको छ । घरको त्यो चर्पी र धारा म संक्रमितले प्रयोग गर्नु की पूरा परिवारले ? चिन्ता ठूलो छ । यसैले गर्दा मलाई होम आईसोलेसनमा बस्नुको कुनै औचित्य नै लागेको छैन ।

देशमा तिन तहको सरकार छ तर उनीहरुले सुबिधा सहितको मापदण्डपूर्णको कुरै छोडौ समान्य आइसोलेसन पनि नबनाएकोले बाध्यतावस म घरमै बस्नु परेको छ । दिशा र पिसाब गर्न दिनभरिमा कम्तीमा ५–६ पटक सम्म टवाइलेट जाँदा र हयान्ड पाइप प्रयोग गर्दा मेरो परिवारका थप ३ सदस्यमा कोरोना पोजेटिभ देखिएको छ । होम आइसोलेसनमा बस्न सक्ने अवश्थाम हातमा लगाउन प्रयाप्त ग्लोभस पनि थिएन । संक्रमितको घरको अवश्था कस्तो छ ? होमआइसोलेसनको मापदण्ड पुगेको छ की छैन भनेर निर्धारणनै नगरी संक्रमितलाई घरमा थुपार्ने सरकारको निर्णय त्रुटिपूर्ण छ । गौरमै होम आइसोलेसनमा बसेकाहरु तरकारी र खाद्यान्नका सामान किन्न बजार सम्म पुगिरहेका छन तर यसमा कसैको चासो छैन ।

केही साथीहरु संग विभिन्न माध्यमबाट राय सल्लाह लिएर तातो पानी, दुधमा बेसार हालेर, उमालेको अण्डा, राम्ररी पकाएको कुखुराको मासु, गुर्जोको झोल र भिटामिन बी कम्प्लेक्स खाइ रहेको छु । बिहान बेलुका गरि दुई समय शारीरिक व्याम पनि गर्न थालेको छु । आज पाच दिन भयो तर एक चोटि पनि मेरो अवस्था बुझ्न न कुनै डक्टर आए, न फोन गरेर सोध्यो । संक्रमितहरुले कुन औषधि कुन बेला खाने, के गर्ने नगर्ने कुनै सल्लाह समेत दिएका छैनन । मनमनै सोच्छु यो भन्दा पहिले आफैले आइसोलेसनको समाचार लेख्दा आइसोलेसनमा विभिन्न समस्या रहेको उजागर गर्थे, आइसोलेसनमै नजाने चिकित्सकहरु संक्रमितको घर–घरमा गएर निगरानी गर्न कसरी सम्भव हुन्छ । सरकारले दायीत्व बिर्सियो, संक्रमितहरु प्रतिको जिम्मेवारी बिर्सियो अब महामारीमा आफैले आफूलाई बचाउनु छ ।

पहिले पहिले कुष्ठरोग हुदाँ कुष्ठरोगीलाई बस्ती भन्दा बाहिर एउटा छाप्रो बनाएर राखिने गरिन्थ्यो । कोरोना संक्रमित प्रति समाजको सोचाई अहिले ठिक त्यस्तै छ । पाँच दिन अघि सम्मको मानिसको व्यवहार आज पूरै उल्टो भइसकेको छ । समान्य अवश्थामा हुँदा हजुर हजुर भने व्यक्ति कोरोना संक्रमित भएको बेला देखी मुख छोप्दै नदेखेझै गरेर हिडन थालेका छन । यहि समाजमा जन्मेर हुर्केको मैले मेरो समाजको यस्तो रुप देखेकै रहेनछु ।

म सँगै बसेका मेरा नजिकका इष्ट मित्रहरुले अचेल फोनमा पनि कुरा गर्न छोडि सके । म संग त यति सम्म हद भयो कि सधैं घरमा दूध पु¥याउने व्यापारीले दूध समेत दिन छोडयो । घरका सदस्यहरु कुनै कामले एक छिन बाहिर निस्कीनु पर्दा सबलै उहाँहरुको मुखमा हेरेर यिनकै छोरालाई कोरोना भएको छ भनेर एक आपसमा कुरा काटन थाल्छन । टोलका पसलवालाले भाइ समान किन्न जादा छैन भनेर फर्कायो । पछि मैले फोन गरेर भने म पनि यहि समाजको हुँ, याद राख्नुस एक दिन तपाईलाई पनि काम लाग्न सक्छु भनेपछि फेरि त्यो दिनबाट सामान दिन थालेको छ । मैले पाँच दिनमै यति भोगी सकेको छु जुन मैले २४ वर्षको उमेर सम्ममा भोगेकै थिएन । कोरोनाले गर्दा, को आफ्नो को पराया भन्ने चिन्ने मौका पाए । धन्यवाद कोरोना तिमीले मलाई मान्छेको पहिचान गर्न सिकायौं ।

अन्त्यमा मेरो हिसाबले कोरोना सरुवा रोग भए पनि घातक होइन भन्ने बुझेको छु । पुराना दीर्घ रोगी जस्तै दमको विरामी, किडनीको विरामी, क्यान्सरको विरामी, मधुमेहको बिरामी आदि रोगले ग्रसित रोगप्रतिरोधात्मक क्षमता कम भएका जुनसुकै उमेरको मान्छेको लागि भने कोरोना घातक हो । घर बाहिर निस्किदा अनिवार्य रुपमा माक्स लगाउ, बजारमा हिड्दा, समान किन्दा भौतिक दुरी कायम गरौं, बेला बेलामा साबुन पनि ले राम्ररी हात धुने गरौं साथै सेनिटाइजर लगाउने गरौं ।

म कोरोना जितेर फर्किने छु यो मेरो विश्वास हो । तर कोरोना जितेर म फर्कदै गर्दा, संक्रमितप्रति घृणित सोच राख्ने मेरा हितैषीहरु मेरो नजरबाट सधैका लागी हार्नेछन ।

संक्रमित संचारकर्मी राजनारायण (आर एन) साह रौतहटबाटै संचालन हुने आजतक नेपाल अनलाइनमा काम गर्छन ।