अछाममा आएको बाढीमा पुरिएका ६ जनाको शव भेटिया

   ३ भाद्र २०७७, बुधबार १२:१०  

भदौ ३, रौतहट । मंगलबार राति अछामको रामारोसन गाउँपालिकामा आएको बाढीमा पुरिएर ६ जनाको मृत्यु भएको छ ।

बाढीले थुप्रै घरसहित पुलसमेत बगाएको छ, भने दर्जनौं परिवार विस्थापित भएका छन् । बाढीमा पुरिएका ४ जनाको शव बान्नीगढी जयगढ गाउँपालिका ६ दर्नाकोे कोसेडा क्षेत्र र २ जनाको शव मंगलसेन नगरपालिका ३ रलेको लमतणा र सेरीमा भेटिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी योगेन्द्रसिंह थापाले जनाएका हुन् ।

त्यस्तै, बाढीपहिरोमा परी दर्नाको पक्की पुलसमेत बगेको स्थानीय पुष्प विष्टले बताए ।‘रामारोसन गाउँपालिका–५ को सैनीबजारमा दुई दर्जनभन्दा बढी मान्छे सम्पर्कविहीन भएका छन् । हामी अहिले सैनीबजार जाँदै छौं,’ उनले भने, ‘खालबजार, मुजाबगर, सैनीबजार, गजड, अल्लेडीलगायत धेरै ठाउँमा मानवीय र भौतिक क्षति भएको छ ।’

कैलास खोलाको बाढीले छेउछाउका घर, पसल र खेत बगाइदिएको उनले बताए । विष्टका अनुसार दर्नाको सबैभन्दा बढी धान उत्पादन हुने नगरर्नाको कोसेडा खेत बगर बनेको छ ।

घटनाबारे जानकारी पाएपछि प्रहरी टोली घटनास्थलतर्फ लागेको डीएसपी थापाले जानकारी दिए । उनका अनुसार नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीसहितको टोली घटनास्थल गइरहेको छ ।

बाढीमा १८ जनाजति सम्पर्कविहीन रहेको खबर आएको प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले बताए । सुरक्षाकर्मीको टोली घटनास्थल पुग्न अझै समय लाग्ने देखिन्छ । घाइतेको उद्धारका लागि हेलिकप्टर पठाइदिन प्रदेश र केन्द्र सरकारलाई अनुरोध गरेका छौँ, उनले भने ।