कोरोनाका कारण गौरमा पहिलो मृत्यु, सेनाले गर्यो अन्तेष्टी

   १ भाद्र २०७७, सोमबार १४:३२  

१ भदौ, रौतहट । शनिवार राति उपचारका क्रममा वीरगञ्जमा क्रममा मृत्यु भएका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भयो । रौतहटको गौर नगरपालिका वडा नं. १ का ३२ वर्षिय सो युवक क्षयरोगका बिरामी समेत थिए ।

केही दिन अघि देखि स्वास्थ्यमा समस्या देखिए पछि गौरकै निजी क्लीनिकहरुमा उपचारका लागी गएका ती पुरुषको फोक्सोमा समस्या देखिएको थियो । किडनी र फोक्सो दुवैमा समस्या रहेको भन्दै गौरका डाक्टरहरुले उनलाई थप उपचारका लागी वीरगंज लग्न सुझाव दिएका थिए ।

अत्याधिक मदिरा सेवनका कारण शरीरका महत्वपूर्ण अंगले काम गर्न कम गरे पछि उनलाई शनिवार वीरगंजको नारायणी अस्पतालमा पु¥याइएको उनका दाजुले बताए । तिन वर्ष देखी क्षयरोगका रोगी समेत रहेका ती युवकको छातीको एक्सरेको रिपोर्ट हेरे पछि डाक्टरहरुले उपचार शुरु गरेका थिए । श्वासप्रश्वासमा समस्या देखिएको पुरुषको उपचारको क्रममा बेलुकी ८ बजेतिर मृत्यु भएको थियो ।

फाइल फोटो

गौर १ को ट्रान्सफरमर चोकमा पान पसल संचालन गरेका ती पुरुषले नियमित खानुपर्ने क्षयरोगको औषधी समेत सेवन गर्न हेलचेक्राइ गर्ने गरेको र मद्यपानका कारण स्वास्थ्य झनै बिग्रेको थियो । “भाइको मृत्यु भए पछि शव घर ल्याउने तयारी थियो । डाक्टरहरुले पनि शव लिएर जान भनेका थिए तर अस्पतालका केही कर्मचारीले स्वाब परिक्षण गर्नु पर्छ भनेर भने ।” मृतकका दाजुले भने “पिसिआर परिक्षणमा आइतवार बिहान नतिजा पोजेटिभ आएको थियो ।”

मृतकमा कोरोना संक्रमण पुष्टी भए पछि गए राति नै उनको अन्तीम संस्कार गरिएको छ । नेपाली सेनाको एक टोलीले गौर ४ मा रहेको लाल बकैया नदी किनार उनको अन्तीम संस्कार गरेको मृतकका दाजुले बताए । “राति ११ बजे सेनाले फोन गरेर शव गौर लिएर आएको जानकारी दियो ।” मृतकका दाजुले भने “परिवारजनका तिन सदस्यहरु रातिनै सो स्थानमा गयौं । टाढै बाट शव हेरे पछि त्यहाँ अन्तीम संस्कार गरियो ।”

गौर नगरपालिकामा पहिलो पटक कोरोना संक्रमणबाट मृत्यु भएका ती मृतकका तिन छोरी र एक श्रीमती छन । मृत्यु हुनु भन्दा २ घण्टा पहिले मात्र उनकी श्रीमतीले तेश्रो सन्तानको रुपमा छोरी जन्माएकी थिइन । यो सँगै रौतहटमा कोरोनाका कारण मृत्यु हुनेको सँख्या २ पुगेको छ ।