रौतहटमा थप ७ दिन निशेधाज्ञा जारी
रौतहट, ३१ साउन । कोरोना भाइरस (कोविड १९) को संक्रमण समुदाय स्तरमै फैलिन थालेपछि रौतहट प्रशासनले २४ देखी ३२ गते सम्म गरेको निषेधाज्ञा पुनः ७ दिनको लागी थपेको छ ।
समुदाय एवं सर्वसाधारणमा कोरोना संक्रमणको जोखिम कम गर्न स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ तथा संक्रमण रोग ऐन, २०२० को दफा २ बमोजिम साउन २४ देखी ३२ गते सम्मका लागी रौतहट जिल्ला भरी निषेधाज्ञा जारी गरेको थियो । यो अवधिमा कोरोना संक्रमितहरु बढेको र संक्रमण थप फैलन सक्ने भन्दै प्रशासनले निषेधाज्ञालाई भदौ १ देखी ७ गते सम्म एक साता लम्ब्याएको हो ।
जिल्ला प्रशासन कार्यालयले आज जारी गरेको सूचनामा अत्यावश्यक काम बाहेक कुनै पनि व्यक्तिलाई घर बाहिर निस्कन निषेध गरेको छ । स्वास्थ्य, विद्युत, दुरसंचार, खानेपाी, दुध, फोहर मैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, औषधी, खाद्यान्न, तरकारी आपूर्ति बाहेकका अन्य सवै निकाय र सेवालाई पनि निषेध गरिएको छ भने एम्बुलेन्स, सव वाहन, दमकल लगायत सवारी पास प्राप्त सवारी साधनलाई मात्र संचालनको अनुमति दिएको छ ।
जिल्ला प्रशासन कार्यालयले सोमवार, बुधवार र शुक्रवार तिन दिन बिहान ६ बजे देखि ९ बजे सम्म स्वास्थ्य सुरक्षा सर्तकता अपनाउदै अत्यावश्यक खाद्यान्न सामग्रीकोको पसल संचालनको अनुमति दिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताएका छन । निषेधाज्ञाको उल्लंघन गर्नेलाई ऐन बमोजिम कारवाही हुने समेत उनले बताए ।