सिन्धुपाल्चोक पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १३ पुग्यो
३१ साउन, काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर–२, लिदी लामागाउँको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १३ पुगेको छ । ११ जनाको शव शुक्रबार पहिरोले पुरिएको अवस्थामा फेला परेको र शनिबार विहान थप दुई जनाको शव भेटिएपछि मृतकको संख्या १३ पुगेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेका अनुसार मृत्यु हुनेहरुमा लिदी लामागाउँकी ३६ वर्षीया टिकामाया दोङ, १४ वर्षीय छिरिङ दोङ, ८० वर्षीय जिते झाक्री, ८ वर्षीय मिलन दोङ, ८ वर्षीय सानु दोङ, ७० वर्षीय जयबहादुर दोङ, ३० वर्षीय दावाल्हामु दोङ, ५ वर्षीया प्रिती दोङ, ५ महिनाकी कान्छी दोङ, ३४ वर्षीया धनमाया दोङ र ४ महिनाका रेमिश दोङ रहेका छन् ।
लिदी गाउँको तामाङ वस्तीमा शुक्रबार बिहान करिब ६ बजेतिर पहिरो गएको थियो । लिदीको तामाङ वस्तीका केही व्यक्तिहरु अझै बेपत्ता छन् । उनीहरुको खोजी तथा उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीको टोली खटाइएको छ ।