बिहीबार बिहान मृत्यु भएका दुई जनामा कोरोना संक्रमण पुष्टि

   ३० श्रावण २०७७, शुक्रबार १५:३०  

साउन ३०, रौतहट । वीरगन्जमा बिहीबार बिहान मृत्यु भएका बाराका दुई जनामा कोरोना भाईरसका संक्रमण पुष्टि भएको छ । गण्डक कोभिड अस्पतालका संयोजक डा।उदय सिंहले उनीहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए ।

कोरोनाको लक्षणसहित कोभिड अस्पताल पुगेका उनीहरुलाई आइसियू कक्षको अभावमा नारायणी अस्पतालको आकस्मिक कक्ष र भेन्टिलटरमा उपचार गराइएको थियो।

मृत्युअघि नै स्वाब लिइएको भएपनि मृत्यृ पश्चातमात्रै कोरोना पुष्टि भएको डा. सिंहले बताए । वीरगन्जमा पछिल्लो पटकको परीक्षणका क्रममा ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा पर्सा जिल्लाका २६, बाराका २० जना, महोत्तरीका २ जना र वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासका एक जना कर्मचारीमा कोरोना पोजेटिभ देखिएको हो ।

नारायणी अस्पतालको एनआइसियू विभागका एक चिकित्सक, पोषण, फार्मेसी र फिजियोथेरापी विभागका एक–एक जना कर्मचारीमा कोरोना देखिएको छ ।अस्पतालका ३ जना स्वीपर, ३ जना सुरक्षा गार्ड र एक जना कार्यालय सहयोगीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ।