कोरोनाको ‘हटस्पट’ बन्दै रौतहट, पत्रकार, कर्मचारी सहित २४ संक्रमित थपिए ।

   ३० श्रावण २०७७, शुक्रबार १३:१६  

२८ साउन, रौतहट ।  रौतहटको गौर नगरपालिकामा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्वारेन्टीन बाहिर रौतहटमा समुदाय स्तरमै कोरोना संक्रमणको वृद्धि दर तिव्र बनेको छ ।

साउन २७ गते गौर नगरपालिकाका कर्मचारी, सर्वसाधार र पत्रकार गरी ९४ जनाको स्वाब संकलन गरेर परिक्षणको लागी पठाइएकोमा १७ जनामा संक्रमण पुष्टी भएको जिल्ला जनस्वास्थ्य कार्यालयका फोकल पर्सन हरेन्द्र गुप्ताले बताए । आज आएको रिपोर्टमा गौर ५ का एकै परिवारका ५ जना, ८ कर्मचारी, १ पत्रकार सहित १७ जनामा संक्रमण पुष्टी भएको हो ।

संक्रमितहरु मध्ये ६ महिला र ११ पुरुष रहेका छन उनीहरुको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ्गको काम शुरु भएको गुप्ताले बताए । यसै गरी गढीमाई, देवाही गोनाही, चन्द्रपुर नगरपालिकामा पनि एक–एक जना संक्रमित थपिएका छन भने परोहा नगरपालिकामा ४ जनामा संक्रमण पुष्टी भएको छ ।

विगत ६ दिनमा रौतहटमा ८६ जनामा संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य कार्यालयको लापरवाही, संक्रमितहरु घरमै आइसोलेसनमा ।

पछिल्लो समय थपिएका संक्रमितहरुलाई छुट्टै आइसोलेसनमा राख्नुको सट्टा जिल्ला स्वास्थ्य कार्यालयले उनीहरुलाई घरमै छोडेको छ । शक्ति र पहुच भएकाहरुलाई जिल्ला जनस्वास्थ्य कार्यालयले घरमै आइसोलेसनमा राख्न थालेको हो ।

रौतहटका आइसोलेसन सेन्टरहरु खाली रहेको अवश्थामा संक्रमितलाई समुदायमै छोडदा झनै खतरा बढेको स्थानियले बताएका छन । प्रत्यक्ष स्वास्थ्यकर्मीको निगरानीमा रहनु पर्ने संक्रमितहरुलाई उनीहरुको घरमै राख्दा समुदायमा जोखिम बढेको हो । घरमै आइसोलेसनमा रहेकाहरुको स्वास्थ्य अवश्थाको बारेमा जिल्ला स्वास्थ्य कार्यालय गौरले कुनै चासो समेत लिएको छैन ।

आइसोलेसन सेन्टरलाई व्यवस्थीत र मानवीय हिसाबले बस्न लायक रुपमा तयार पारेर संक्रमितहरुलाई चाहिने आवश्यक खाना, सरसफाई तथा उचित बास स्थानको प्रबन्ध गर्नुको सट्टा यी सबै काम पन्छायर स्वास्थ्य कार्यालय आफू जोगिने बाटोमा लागेको छ । आइसोलेसनमा रहेकाहरुले समेत अत्यावश्यक सामग्री पानी, साबुन, सरसफाई तथा खाना समेतको उचित व्यवस्था गर्न नसकेको भन्दै असन्तुष्टी जनाइरहेका छन । घरमै रहेका संक्रमितको स्वास्थ्य अवश्था बिग्रेको खण्डमा तत्कालै कुनै काम गर्न नसकिने भएकाले गर्दा स्वास्थ्य सुविधा र एम्बुलेन्स सहितको आइसोलेसनमा जोड दिन जरुरी छ ।

अक्सीजन, अत्यावश्यक स्वास्थ्य सुविधा सहित चिकित्सकको निगरानीमा आइसोलेसनमा राख्नुको सट्टा घर घरमै बिरामी छोडेर लापरवाही गरिएको स्थानियको आरोप छ ।