रौतहट संकटमा, नेताहरु आफ्नै धुनमा

   २९ श्रावण २०७७, बिहीबार १२:००  

२९ साउन, रौतहट । २०७७ सालको पहिलो दिन अर्थात बैशाख १ गते रौतहटमा पहिलो कोरोना संक्रमित भेटियो । सो दिन इशनाथ नगरपालिकाका एक पुरुषमा कोरोना संक्रमण पुष्टी भए पछि संभवत पहिलो पटक रौतहटका स्थानियमा त्यती धेरै त्राश उत्पन्न भएको थियो । पहिलो संक्रमित भेटिए पछि त्यसैबेला देखी रौतहटमा चिन्ता शुरु भयो ।

भारत सँग सिमा जोडिएको जिल्ला, रोजगारीका लागी रौतहटका धेरै युवा भारतीय सहरहरुमा पुगेको कारण रौतहटवासीमा कोरोना संक्रमण त्राश उत्पन्न हुनु अस्वभाविक थिएन । विगत चार महिनामा १३ हजार भन्दा बढी मानिस भारत लगायतका तेश्रो मुलुक बाट रौतहट आए । १५ हजार २ सय ९४ जनाको स्वाब परिक्षण गर्दा रौतहटमा १ हजार ३ सय ८३ जना पोजेटिभ भेटिए, जसमध्ये १ हजार ३ सय २७ जना निको भएर घर फर्किसकेका छन भने १ हजार ९७ जनाको रिपोर्ट आउन अझै बाकी छ ।

पछिल्लो समय रौतहटमा कोरोना संक्रमित थपिने क्रम तिव्र बने सँगै जिल्लामा पिसिआर मेशिन सहितको प्रयोगशालाको व्यवस्था हुनु पर्ने माँग उठेको छ । चार महिना देखी संक्रमणको त्राश बोकेको रौतहटमा यो अवधिमा एउटा पिसिआर मेशिन समेत व्यवस्था गर्न नसक्नुमा केन्द्र, प्रदेश र स्थानिय सरकार सँगै जिल्ला स्वास्थ्य कार्यालय पनि त्यतीनै दोषी छ ।

अहिले दैनिक रुपमा कोरोना संक्रमित बिरामी थपिन थाले पछि एक घर एक जाँच अघि बढाउन तथा प्रयोगशालाको व्यवस्थापन गर्न सामाजिक संजालमा चर्को आवाज उठेको छ । रौतहटबाट निर्वाचित भएर केन्द्र, प्रदेश तथा पालिकाहरुमा नेतृत्व गरिरहेका कसैले पनि रौतहटका जनताको भावना नबुझेको भन्दै सामाजिक संजालहरुमा नेताहरु प्रति चर्को आक्रोश समेत व्यक्त हुन थालेको छ ।

रौतहटका चार निर्वाचन क्षेत्रबाट निर्वाचित प्रतिनिधि सभा, प्रदेश सभा सदस्य, राज्यमन्त्री कसैले पनि महामारी फैलिरहेको बेला रौतहटका जनताको स्वास्थ्यको परवाह नगरेको आरोप स्थानियको छ । अहिले अधिकांश नेताहरु होम क्वारेन्टाइनमा बसेका छन । हरेक आर्थिक वर्ष करोडौंको बजेट चलाउने स्थानिय पालिकाका प्रमुख देखी केन्द्रीय प्रतिनिधिले एउटा पिसिआर मेशिन र प्रयोगशालाको व्यवस्था गराउन नसक्दा निराश बनेका स्थानियले आफैले चन्दा संकलन गर्ने प्रस्तावहरु समेत सामाजिक संजालमा राखेका छन ।

विगत चार दिनमा रौतहटमा ६२ जनामा संक्रमण पुष्टी भएको छ । आइतवार गौरमा १५ जना, सोमबार एकै दिन राजदेवीमा १९ र कटहरीयामा ९ जनामा तथा मंगलवार गरुडाका ११ जना र चन्द्रपुरका ५ जनामा संक्रमण देखिएको थियो । यसरी दिनहु संक्रमण बढदै जादा स्वाब परिक्षणको दायरा समेत बढाउनु पर्ने आवश्यक्ता रहेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयमा पर्याप्त मात्रामा भिटिएम नहुदा स्वाब संकलनको काम समेत प्रभावित बनेको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख महेश साहले बताए । “माँग गरे जतिको भिटिएम प्राप्त हुन नसके पछि परिक्षणको दायरा बढाउन सकिएको छैन ।” जनस्वास्थ्य प्रमुख साहले भने “ल्याबहरुमा परिक्षणको चाँप बढेकोले नतिजा प्राप्त हुन समय लाग्ने गरेको छ ।” सामाजिक संजालमा विभिन्न पक्षधरहरुले एकअर्का प्रति दोषारोपण गर्नु भन्दा सबै मिलेर प्रयोगशाला व्यवस्थापन जोड दिनु पर्ने आवश्यक्ता रहेको छ ।

हाल रौतहटमा संकलन भएका स्वाबहरु प्रदेश ३ को हेटौडाको प्रयोगशाला, वीरगंज तथा केन्द्रीय प्रयोगशाला काठमाण्डौमा परिक्षण हुदै आएको छ ।