रौतहटको चन्द्रपुरमा ५ संक्रमित थपिए, चार दिनमा ५९ संक्रमित

   २८ श्रावण २०७७, बुधबार १३:३२  

कल्याणी झा
२८ साउन, रौतहट । रौतहटको चन्द्ररपुर नगरपालिकामा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गए राति आएको स्वाब परिक्षणको रिपोर्टमा उनीहरु पोजेटिभ भेटिएका हुन ।

हेटौडा प्रयोगशालाले दिएको रिपोर्टमा चन्द्रपुर नगरपालिका ९ कि एक युवति सहित ४ पुरुषमा संक्रमण पुष्टी भएको हो । चन्द्रपुर नगरपालिकामा पुष्टी भएका मध्ये तिन जना कन्ट्याक्ट ट्रेसिङ्गका क्रममा पता लागेको चन्द्रपुर अस्पतालले जनाएको छ । कुल १ सय १७ जनाको स्वाब संकलन गरेर परिक्षणको लागी पठाइएकोमा ५ जनाको रिपोर्ट पोजेटिभ आएको चन्द्रपुर अस्पतालका जनस्वास्थ्य निरिक्षक मात्रिका चालिसे बताए । संक्रमण पुष्टी भएकाहरुको कन्ट्याक्ट ट्रेसिङ्गको काम शुरु भएको र संक्रमितहरुलाई चन्द्रपुरमा रहेको आइसोलेसनमा राखिने चालिसेले बताए ।

विगत चार दिनमा रौतहटमा ५९ जनामा संक्रमण पुष्टी भएको छ । यसअघि आइतवार रौतहटमा १५ जना, सोमबार एकै दिन राजदेवीमा १९ र कटहरीयामा ९ जनामा तथा मंगलवार गरुडाका ११ जनामा संक्रमण देखिएको थियो ।

संक्रमित बढे पछि बन्द भएका आइसोलेसन सेन्टरहरु पुनः संचालनमा ल्याउने तयारी भएको जिल्ला अस्पताल गौरका प्रमुख डा. कृष्ण साहले बताए । हाल रौतहटको गौरमा गौर नर्सिङ्ग इन्सटीच्यूट र चन्द्रनिगाहपुरको शहिद पार्कमा रहेको दुई वटा आइसोलेसन मात्रै संचालनमा रहेको तर संक्रमितको सँख्या वृद्धि हुन थाले पछि पहिले बन्द भएका आइसोलेसनहरु पुनः सुचारु गर्न लागिएको डा. साहले बताए ।

हाल गौर नर्सिङ्ग इन्सटीच्यूटको आइसोलेसनमा ३० जना र चन्द्रपुरको आइसोलेसनमा ५ जना रहेका छन । गौरका १६ र इशनाथ लक्ष्मीनीयाका ३ संक्रमितलाई होम आइसोलेसनमा राखिएको उनले बताए ।पहुचकै भरमा संक्रमितहरुलाई होम आइसोलेसनमा राख्न थाले पछि रौतहटमा स्थानियले विरोध गर्न थालेका छन । मापदण्ड पूरा नगरेकाहरुलाई होम आइसोलनमा राख्दा समाजमा संक्रमण झनै फैलिने उनीहरुको तर्क छ ।