बढन थाल्यो कोरोनाको कहर, जनकपुरका पूर्व मेयरको मृत्यु
रौतहट, २८ साउन ।नेपालमा कोरोना संक्रमणको कहर अत्याधिक बढेको छ । कोरोना संक्रमणकै कारण संक्रमितहरुको मृत्यु दर बढन थाले पछि झनै त्राश थपिएको छ ।
कोरोना संक्रमणका कारण जनकपुरका पूर्वमेयर एवं होटेल रामाका सन्चालक कृष्ण गिरीको मृत्यु भएको छ । काठमाडौंको मेडिसिटी अस्पतालमा उनको उपचारका क्रममा मंगलबार राति १२ बजे मृत्यु भएको हो । पछिल्लो तीन साता देखि उपचारमा रहेका ७२ वर्षीय गिरी एक सातादेखि भेन्टिलेटरमा उपचार गराइरहेका थिए । जनकपुरधाममै रहेको बेला श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई हेलिकप्टर चार्टर गरी काठमाडौं लगिएको थियो । गिरी २०४२ सालदेखि ४ बर्षसम्म जनकपुरको मेयर बनेका थिए ।
यसै गरी कोरोना संक्रमणबाट बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मोरङका ५५ वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको छ । मृतक पुरुष मोरङको बुढीगंगा गाउँपालिका–२ गंगा चोकका बासिन्दा हुन । श्वाश्सप्रश्वासमा समस्या र ज्वरो देखिएका पुरुषलाई गम्भिर अवस्थामा २६ साउनमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको थियो ।
ललितपुरको ग्वार्कोस्थित किस्ट मेडिकल कलेजमा मृत्यु भएकी एकजना महिलाको पनि कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ । काठमाडौं टेकुकी ७८ वर्षीया महिलाको मंगलबार राति सवा १ बजे मृत्यु भएको किस्ट अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले जानकारी दिए ।
यस्तै ललितपुरको पाटन अस्पतालमा उपचाररत एक जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । मृतक जनकपुरकी ३८ वर्षीया महिला हुन् । यही साउन १८ गते उनी पाटन अस्पतालमा भर्ना भएकी थिइन् । स्वास्थ्य कार्यालय ललितपुरले उनको मृत्यु बुधबार भएको पुष्टि गरेको छ ।
गएराति बुटवलको कोरोना विशेष अस्पतालमा कपिलवस्तुको तौलिहवाका एक जना कोरोना संक्रमितको मृत्यु भएको थियो । बुटवलको कोरोना विशेष अस्पतालमा अर्का एक पुरुषको पनि मृत्यु भए पनि उनको कोरोना परीक्षण रिपोर्ट आउन बाँकी छ ।
यसैगरी मंगलबार राति नै सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं. ८ का संक्रमितको मृत्यु भएको थियो । हाल सम्म कोरोना संक्रमणका कारण नेपालमा ८३ जनाको मृत्यु भइसकेको छ ।