भारतीय गायक केकेको हृदयघातबाट निधन
१८ जेठ, एजेन्सी । चर्चित भारतीय गायक केके (कृष्णकुमार कुन्नथ)को निधन भएको छ । ५३ वर्षीय केकेको मंगलबार राति हृदयघातबाट निधन भएको हो ।
कोलकातामा लाइभ कन्सर्टमा प्रस्तुति दिएकै अवस्थामा उनको स्वास्थ्यमा समस्या आएपछि उपचारको लागि तत्काल केकेलाई कोलकाता मेडिकल रिसर्च इन्स्टिच्युटमा लगिएको थियो ।
अस्पताल लैजाने क्रममा बाटोमै हृदयघातबाट उनको मृत्यु प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । निधनभन्दा केही समयअघि उनले कोलकातामा भएको कन्सर्टका तस्वीर र भिडियो समेत उनले सेयर गरेका थिए ।
गायक केकेको निधन प्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी समेत दुःख व्यक्त गरेका छन् ।
कोलकातास्थित गुरुदास कलेजको कार्यक्रममा भाग लिन उनी त्यहाँ पुगेका थिए । बलिउडसहित तमिल, तेलुगू, कन्नड, मराठी, बंगाली र गुजराती फिल्ममा समेत उनले गीत गाएका थिए ।
उनका गीतमा सबै उमेर समूहका मानिस जोडिने गरेको बताउँदै मोदीले गीतमार्फत केके सबैको हृदयमा बस्ने भन्दै ट्वीट गरेका छन् । राष्ट्रपति रामनाथ कोविन्दले पनि उनको निधनमा शोक व्यक्त गरेका छन् ।






