रौतहटको राजदेविमा कोरोनाका १९ नयाँ संक्रमित थपिए

   २६ श्रावण २०७७, सोमबार १६:२३  

रौतहट, २६ साउन । साउन ११ गते रौतहटको राजदेवि नगरपालिकाका एक वडा अध्यक्षमा कोरोना संक्रमण पुष्टी भए पछि उनीसँग सम्पर्कमा आएकाहरुलाई कन्टायक्ट ट्रेसिङ्ग गर्दा १९ नयाँ संक्रमित थपिएका छन ।

काठमाण्डौ जानका लागी पिसिआर परिक्षण गराएका राजदेवि नगरपालिका एक वडा अध्यक्षमा संक्रमित हुदा उनको प्रत्यक्ष सम्पर्कमा आएका १७ जनाको स्वाब संकलन गरिएको थियो । स्वाबको नतिजा साउन २० मा आउदा वडा अध्यक्षको सम्पर्कमा रहेका राजदेवि नगरपालिकाका ४ जना संक्रमित भेटिएका थिए । राजदेवि नगरपालिकामा १४४ जनाको स्वाब संकलन गरिएको थियो । कन्ट्याक्ट ट्रेसिङ्गकै क्रममा आज आएको रिपोर्टमा राजदेवि नपा ४ बसतपुरका १४ जना र अन्य वडाका ५ जनामा संक्रमण पुष्टी भएको जिल्ला जनस्वास्थ्य कार्यालय रौतहटका प्रमुख महेश साहले बताए ।

“समुदाय स्तरमा कोरोना संक्रण फैलिएको छ । मास्क लगायतका अत्यावश्क स्वास्थ्य सावधानीका उपायहरु प्रति स्थानियहरु उदासिन बन्दा अवश्था भयावह बन्ने खतरा बढेको छ ।” जनस्वास्थ्य प्रमुख साहले भने “पर्याप्त मात्रामा भिटिएम किटहरु नहुदा परिक्षणको दायरा बढाउन गाह्रो भएको छ ।”

आइतवार मात्रै रौतहटको गौरमा १५ संक्रमित थपिएका थिए । आइतवार संक्रमण पुष्टी भएका मध्ये केही व्यक्ति आफ्नै घरमा आइसोलेसनमा बस्न खोजेपछि झनै समस्या उत्पन्न भएको प्रमुख साहले बताए ।