नेपालमा पाँच महिनामा ११ अर्ब २९ करोड भन्दा धेरै मूल्यको औषधि आयात
साउन २६, रौतहट । विश्वभर फैलिएको कोरोना भाईरस (कोभिड १९)का संक्रमण नेपालमा सुरु भएको पाँच महिनामा मात्रै ११ अर्ब २९ करोड भन्दा धेरै मूल्यको औषधि र यसका कच्चा पदार्थ आयात भएको छ ।
कोरोना भाईरसका संक्रमण फैल्न नदिनको लागि लकडाउन सुरु भएको चैत ११ गतेदेखि साउन २५ गतेसम्ममा मात्रै ८ अर्ब ५९ करोड ६३ लाख ७१ हजार रुपैयाँ बराबरको तयारी औषधि आयात भएको छ । त्यस्तै, दुई अर्ब ६९ करोड ५२ लाख ५६ हजार रुपैयाँ बराबरको औषधिका कच्चा पदार्थ नेपाल भित्रिएको विभागका महानिर्देशक सुमन दाहालले बताएका हुन् ।
नेपालमा कोरोना संक्रमणका कारण लकडाउन सुरु भएको पहिलो महिना १९ दिनमा ६९ करोड १ लाख १७ हजार, वैशाखमा एक अर्ब ९८ करोड ४८ लाख ३३ हजार, जेठमा एक अर्ब ९६ करोड ८३ लाख ५५ हजार र असारमा दुई अर्ब २५ करोड २८ लाख ८३ हजार रुपैयाँ बराबरको तयारी औषधि नेपाल भित्रिएको छ ।
यस्तै साउन २४ गतेसम्म एक अर्ब ६६ करोड २८ लाख ८० हजार रुपैयाँको औषधि नेपाल भित्रिएको छ । पाँच महिना अवधिमा कुल २ खर्ब ९५ अर्ब ५६ करोड २० लाख ३९ हजार रुपैयाँ बराबरको अत्यावश्यक वस्तु आयात हुँदा औषधिको आयातको हिस्सा पनि बढेको भन्सार विभागले जनाएको छ ।
वीरगन्ज र विराटनगर भन्सार नाका भएर धेरै मात्रामा औषधि र कच्चा पदार्थ आयात भएको विभागको भनाई छ । त्रिभूवन अन्तराष्ट्रिय विमानस्थल भान्सार कार्यालय गौचरण र तातोपानी नाका भएर औषधि आयात बढेको विभागको भनाई छ ।