दोलखामा बाढीपहिरोबाट प्रभावित क्षेत्रको स्थलग अवलोकन गरे मन्त्री पार्वत गुरुङ

   २५ श्रावण २०७७, आईतवार १५:०१  

साउन २५, रौतहट । महिला, बालबालिका तथा ज्येष्ठनागरिकमन्त्री पार्वत गुरुङले दोलखाका बाढीपहिरोले प्रभावित भएका क्षेत्रको स्थलग अवलोकन गरी पीडितलाई राहत तथा पुनर्वासका लागि आवश्यक व्यवस्था मिलाउनका लागि छलफल गरेका छन् । जिल्लाको उत्तरी क्षेत्रस्थित टुनिटार, गुरुम्फीका बाडी, पहिरो पीडितहरुलाई भेटेर मन्त्री गुरुङले जिल्ला दैवीप्रकोप समिति र स्थानिय तहलाई सो व्यवस्था मिलाउन निर्देशन दिएका हुन् ।

स्थानीयको राहत तथा बसोबास व्यवस्थापनका लागि मन्त्री गुरुङ आफैं प्रभावित क्षेत्रको स्थलगत अवलोकनमा गएका हुन । जिल्ला दैवीप्रकोप समिति तथा त्यहाँका सबै स्थानीय तहका प्रमुखहरुसहित प्रभावित क्षेत्रमा पुगेका गुरुङले पहिरो प्रभावित टुनिटार,गुरुम्फी लगायतका स्थानीय पीडितलाई भेटेर छलफल गरेका थिए ।

मन्त्री गुरुङकै पहलमा रेडक्रस लगायतका सामाजिक संघ, संस्थाहरुले पीडितका लागि राहत सामग्री पठाउने क्रम सुरु गरेकाले आईतबारबाट वितरणको काम पनि सुरु गर्न लागिएको गौरीशंकर गाउँपालिकाका अध्यक्ष सोयमबहादुर खड्काले जानकारी दिए ।

मन्त्री गुरुङको टोलीमा बागमती प्रदेशकी सांसद सरस्वती बस्नेत, भीमेश्वर नगरपालिकाका मेयर भरत केसीसहित स्थानीयतहका प्रमुखहरु, प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मासमेत थिए ।

बाढी र पहिरोमा परी कालिञ्चोक गाउँपालिकावडानम्बर ८, सुनखानीका २८ वर्षीय सुरेश शिवाकोटीको ज्यान गएको थियो भने ठूलै धनमालको पनि क्षतिभएको थियो ।