कोरोनाको त्राश, सुनसान बन्यो रौतहट
रौतहट, २५ साउन । कोरोना भाइरस (कोविड १९) नियन्त्रण तथा संक्रमण फैलन नदिन जिल्ला प्रशासन कार्यालयले जारी गरेको लकडाउनको दोश्रो दिन रौतहट पूर्ण रुपले बन्द भएको छ ।
रौतहटको सदरमुकाम गौर पूर्ण रुपले बन्द रहेको छ । बजारमा रहेका सम्पूर्ण पसल तथा होटेलहरु बन्द गरिएका छन भने अत्यावश्यक औषधी, दुध तथा ग्यासका पसलहरु भने खुलेका छन । बजारमा मानिसको चहलपहल बन्द गराउन बिहान देखी नै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको बाक्लो उपस्थीती रहेको छ ।
बिरामी, औषधी तथा खाद्यान्न किनमेल गर्न निस्किीएका स्थानियलाई प्रहरीले केही सहुलियत प्रदान गरेको छ । लकडाउनको बेला घुमफिरका उदेश्यले निस्कनेहरु प्रति भने सुरक्षाकर्मीहरु कडा रुपमा प्रस्तुत भइरहेका छन । गौरको विपी चोक देखी भन्सार क्षेत्र सम्मको सडकखण्ड सुनसान रहेको छ । एम्बुलेन्स, औषधीको गाडी र संचारकर्मीहरुलाई भने रोक लगाइएको छैन ।
जिल्लाको मध्य बजार गरुडा पनि प्रहरीले आफ्नो उपस्थीती बढाएको छ । लकडाउनको अवहेलना गर्ने लाई कतिपय स्थानमा प्रहरीले सामान्य बल समेत प्रयोग गरेकोछ । गरुडामा पनि बजार पूर्ण रुपमा बन्द रहेको छ । शिवनगर, कटहरीया, समनपुर लगायतका बजार पनि ठप्प रहेका छन ।
बढदो संक्रमणका कारण रौतहटमा स्थानियहरु घर भन्दा बाहिर निस्कीन चाहेका छैनन । चन्द्रनिगाहपुरको बजार पनि सुनसान रहेको छ भने अत्यावश्यक यातायातका साधन बाहेक अरु सबै सेवाहरु ठप्प रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख रविराज खडकाले बताए । निषेधाज्ञाको उल्लघंन गर्नेहरुलाई ऐन बमोजिम कारवाही समेत शुरु गरिएको उनले बताए । जिल्ला प्रशासन कार्यालयले २४ देखी ३२ साउन सम्म जिल्लामा निषेधाज्ञा लागु गरेको हो ।