वृहत्तर जनकपुर क्षेत्र विकास परिषदमै अख्तियारको छापा

   १० चैत्र २०७८, बिहीबार १६:१६  

१० चैत, रौतहट । वृहत्तर जनकपुर क्षेत्र विकास परिषदमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छापा हानेको छ ।

वृहत्तर जनकपुर क्षेत्र विकास परिषदमा विद्युतीकरण गर्ने योजनामा अनियमितता भएको गुनासो बढेपछि बर्दिवासबाट खटिएको टोलीले वृहत्तरको कार्यालयमा छापा हानेको छ ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको बर्दिवासबाट खटिएको टोलीले बुधबार छापा हानेर वृहत्तरको कार्यालयबाट विद्युतीकरणसम्बन्धी कामबारे जानकारी लिएको हो ।

अख्तियारको टोलीले वृहत्तरमार्फत जानकी मन्दिरमा भएको विद्युतीकरणसम्बन्धी कामको अनुमगनसमेत गरेको अख्तियार बर्दिवास कार्यालयका सूचना अधिकारी विजयकुमार शर्माले जानकारी दिए ।

जानकी मन्दिरमा विद्युतीकरणसम्बन्धी कामका बारेमा परेको उजुरीको आधारमा फाइलहरू अख्तियारले नियन्त्रणमा लिइएको छ । हाल यसबारे छानबिन भइरहेको अधिकारी विजयकुमार शर्माले जनाएको छ ।