रौतहटमा कुखुरा र घरेलु मदिरा प्रहरीद्रारा नष्ट
२८ फागुन, रौतहट । रौतहटका छुट्टाछुट्टै स्थानमा प्रहरीले कुखुरा र घरेलु मदिरा नष्ट गरेका छन् ।
जिल्लाको ईशनाथ नगरपालिकामा वेबारिसे अवस्थामा फेला परेको कुखुरा प्रहरीले नष्ट गरेको छ । प्रहरी ईशनाथ नगरपालिका वडा नम्बर ४ ठुलो लतमरीबाट ६० वटा बोइलर कुखुरा बेवारिसे अवस्थामा आज फेला परेको प्रहरीले जनाएको छ ।
भन्सार छलेर भारतबाट ल्याइएको कुखुराको मूल्य करिब ३० हजार रुपैयाँ बराबर रहेको प्रहरीले जनाएका् छ । प्रहरी चौकी मठियाबाट खटिएको गस्ती टोलीले बरामद गरेको कुखुरालाई जिल्ला प्रहरी कार्यालय रौतहटको प्राङगणमा खाल्टो खनी नष्ट गरिएको प्रहरीले जनाएको छ ।
यस्तै, रौतहटस्थित गौर नगरपालिकामा अवैधरुपमा बनाइएको घरेलु मदिरा प्रहरीले नष्ट गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको गस्ती टोलीले गौर नगरपालिका वडा नम्बर ८ पुरेनवामा चेकजाँच गर्ने क्रममा करिब १०० लिटर घरेलु मदिरा शुक्रबाट साँझ नष्ट गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।






