तस्करी आरोपमा सुब्बासहित दुई पक्राउ

   १५ फाल्गुन २०७८, आईतवार १०:३८  

१५ फागुन, रौतहट । तस्करीको आरोपमा अध्यागमन कार्यालयमा कार्यरत् सुब्बासहित दुई जना पक्राउ परेका छन् ।

भन्सार छलेर अवैध रूपमा ल्याइएको १ किलो एक सय ६५ ग्राम सुनसहित प्रहरीले अध्यागमन कार्यालयमा कार्यरत् नायब सुब्बा लक्ष्मण गुरागाईं र फ्लाई दुबईको उडानबाट नेपाल आएका इटहरी उपमहानगरपालिका १६ का ३४ वर्षीय कमल घिमिरेलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुुसार गोप्य सूचनाका आधारमा खटिएको टोलीले शुक्रबार बिहान उनलाई सुनसहित हिरासतमा लिएका थिए । सुनको १० वटा सिक्रीसहित आगमन टेनल गेटबाट निजलाई पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानको क्रममा विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत नायब सुब्बा गुरागाईंले अध्यागमन क्षेत्रमा रहेको शौचालयमा गएर घिमिरेले ल्याएको सुनको सिक्री लिएर भन्सार चेकजाँच क्षेत्र पास गराएको खुलेको छ ।

पक्राउ परेका दुवै जनामाथि यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।