यस्ता छन् मापदण्ड
कोरोनाका कारण चाडपर्व घरपरिवारमा मात्रै मनाउनुपर्ने, यस्ता छन मापदण्ड
साउन २३, रौतहट । कोरोना भाईरस (कोभिड १९)का कारण यसपालि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चाडपर्व, जात्रा तथा उत्सवहरु मनाउँदा पालना गर्नुपर्ने जनस्वास्थ्यका मापदण्ड २०७७ जारी गरेको छ ।
मन्त्रालयले आगामी दिनहरुमा प्रमुख चाडपर्व, जात्रा तथा उत्सवहरुको समय आउँदै गरेकोले (कोभिड १९) को संक्रमणको जोखिम कम गर्न सुरक्षित रुपमा पर्व कसरी मनाउने भन्ने विषयमा मापदण्ड तयार पारेको बताएको छ ।
मापदण्डमा सबै किसिमका चाडपर्व, जात्रा तथा उत्सव मनाउँदा एउटै घरमा बसोबास गर्ने घरपरिवारका व्यक्ति बाहेक अन्यसँग भेटघाट कम गर्ने उल्लेख छ । सम्भव भएसम्म एकाघरका परिवारका सदस्ययहरुमात्रै बसी चाडबाड तथा पर्वहरु मनाउन भनिएको छ ।
चाडपर्वको समयमा सकेसम्म घर बाहिरको भेटघाटमा नजाने र चाडपर्व ,जात्रा तथा उत्सव मनाउने कार्यक्रम स्थलमा प्रवेश गर्दा अनिवार्य रुपले साबुनपानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने भनिएको छ ।
त्यसैगरी धार्मिक स्थलमा हुने हरेक भेलामा बढीमा २५ जना मात्रै भेला हुने व्यवस्था गर्ने तथा सतहहरु (रेलिङ, बार आदि) देवीदेवताका मूर्तिहरु र धेरै व्यक्तिहरुले प्रयोगमा ल्याउन सक्ने समाग्रीहरु छुनुहुँदैन ।






