चाउचाउ उद्योगमा ८ घण्टादेखि आगलागी, प्रहरीको प्रयास जारी
२९ माघ, झापा । झापाको मेचीनगरस्थित एक चाउचाउ उद्योगमा आगलागी भएको छ ।
शनिबार बिहान ३ बजेदेखि सुरु भएको आगलागी अझै नियन्त्रणमा नआएको प्रहरीले जनाएको छ । मेचरीनगर १४ दुहागढीस्थित मगमग चाउचाउ उद्योगमा लागेको आगोलाई ८ घण्टादेखि नियन्त्रणमा लिने प्रयास जारी छ ।
झापा, इलाम, मोरङ र सुनसरीका दर्जन बढी दमकलले आगो नियन्त्रणमा लिने प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी वसन्त पाठकले जानकारी दिए ।
विद्युत शट भएर शनिबार बिहान करिब ३ बजेदेखि नै उद्योगमा आगो लागेको प्रहरीले अनुमान गरेको छ । आगलागीबाट कारखाना र गोदाम जलेर नष्ट भएकोले करिब १ अर्बभन्दा बढीको क्षती भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट भएको क्षतिबारे थप विवरण आउँन बाँकी रहेको प्रहरीले जनाएको छ ।






