काठमाडौंका सडकमा ट्राफिक प्रहरीहरु परिचालित

   २२ श्रावण २०७७, बिहीबार १३:१४  

साउन २२, रौतहट । काठमाडौं उपत्यकासहितका केहि जिल्लाहरुमा बिहीबार बिहानदेखि ट्राफिक प्रहरीले सार्वजनिक तथा निजी सवारीलाई रोकेर सोधपुछ गरिरहेका छन् । सवारी साधनको नम्बर प्लेट र गतेको अन्तिमको अंकको आधारमा जोर–बिजोर छुट्याइन्छ ।

निर्णय कार्यान्वयन गराउन बिहानैदेखि काठमाडौंका सडकमा ट्राफिक प्रहरीहरु परिचालित भएका छन । उनीहरुले बिजोर नम्बरका सवारी साधन चलाउनेहरुलाई बिहानभर सम्झाइ बुझाइ गरेका छन ।

‘बुधबार बेलुकाको निर्णय भएकाले कतिपयलाई थाहा नहुन सक्छ, त्यही भएर बिहान सम्झाइबुझाइ गर्ने गरेका हौं,’ ट्राफिक प्रहरीका एक जना अधिकारीले बताए । दिउँसोदेखि भने कडाइ गर्ने उनले बताए ।

कोरोना भाइरसको संक्रमण फैलिँदै गएपछि सरकारले फेरि जोरबिजोरको आधारमा सवारी साधन सन्चालन गर्ने निर्णय गरेको हो । गृहमन्त्रालयका अनुसार काठमाडौं उपत्यका र दुई सय जनाभन्दा बढी सक्रिय संक्रमित भएका जिल्लाहरुमा जोर–बिजोर लागु गरिएको छ।

तर, आज बिजोर नम्बरका गाडी चलाउन रोक लगाइँदा पनि काठमाडौं उपत्यकाको सडकमा सवारी साधनको चाप उस्तै देखिएको छ । गृह मन्त्रालयले अत्यावश्यक ढुवानीबाहेकका गाडीहरुलाई बेलुका ७ बजेदेखि बिहान ७ बजेसम्म काठमाडौं उपत्यकामा प्रवेश निषेध गरेको छ ।

साथै दुई सय जनाभन्दा बढी कोरोना संक्रमित भएका जिल्लाका शहरी क्षेत्रमा पनि बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म आवागमन बन्द गरिएको छ ।