पर्सामा ६ महिलासहित थप ४३ जनामा कोरोना संक्रमण पुष्टि

   २२ श्रावण २०७७, बिहीबार १२:२५  

साउन २२, रौतहट । पर्सा जिल्लामा ११ जना सेना सहित थप ४३ जनामा कोरोना भाईरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा बुधबार राति गरिएको पीसीआर परीक्षणमा रौतहट मौलापुरका एकजना र बाराको देवतालका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

४३ जना कोरोना संक्रमितहरुमध्ये ११ जना नेपाली सेना रहेका छन् ।मास ट्रेसिङका ६ जना र कन्ट्याक्ट ट्रेसिङका क्रममा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नारायणी अस्पतालको शल्यक्रिया विभागका एक स्टाफसहित स्टाफ परिवारका दुई जनामा पनि संक्रमण देखिएको छ । संक्रमण पुष्टि हुनेमा वीरगन्ज महानगरपालिका– १० अशोकवाटिका निवासी नारायणी अस्पतालमा डायलसिस गराउँदै आएकी ३५ वर्षीया महिला पनि छिन ।

६ महिलासहित थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा।मदनकुमार उपाध्यायले जनाएका छन् । ४३ जना संक्रमितमध्ये ५ जनामा ज्वरो र खोकीको लक्षण देखिएका छन । त्यस्तै कोरोना संक्रमण पुष्टि भएकामध्ये ७ जनाले आफै पैसा तिरेर स्वाब परीक्षण गराएका हुन ।

त्यसैगरी नेपाल इन्भेस्टमेन्ट बैंकका एक कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । साउनयता पर्सामा ५ सय ८२ जना नयाँ संक्रमित थपिएका छन । सोही अवधिमा पर्सामा १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।