गुणस्तरहीन मह बिक्री गर्ने व्यक्ति पक्राउ

   ७ माघ २०७८, शुक्रबार १३:२१  

७ माघ, रौतहट । गुणस्तरहीन मह बेचेको आरोपमा एक जना पक्राउ परेका छन् ।

गुणस्तरहीन मह बनाएर शुद्ध मह भन्दै बिक्रि गरेको अभियोगमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा नम्बर ६ घर भई हाल काठमाडौंको ज्याठा बस्ने नरबहादुर श्रेष्ठलाई नियन्त्रणमा लिएको हो ।

अपराध महाशाखाको टोलीले उनको साथबाट मह बनाउन प्रयोग गरिने सामग्री, मेसिन, केमिकलसहित ६०० किलो गुणस्तरहीन मह समेत बरामद गरेको प्रहरीले जनाएको छ । स्पर्स हनी ब्राण्डको नाममा उनले दर्तासमेत छैन । करिब ७ वर्ष अगाडिदेखि श्रीमती रस्मिलाको नाममा नतिजा प्याकेजिङ सञ्चालन गरी ‘स्पर्स हनी’ ब्राण्डमा गुणस्तरहीन मह बेच्ने गरेको अनुसन्धानको क्रममा खुलेको छ ।

मह बनाउन प्रयोग गरिने कच्चा पदार्थ दाङ, नवलपरासी र चितवनबाट खरिद गरी ल्याउने र गुणस्तरहीन मह बनाएर काठमाडौं, भक्तपुर र पोखराका होटल तथा रेष्टुरेन्टहरुमा ६५० रुपैयाँ प्रतिकिलोमा बेच्ने गरेको गोप्य सूचनाका आधारमा उनलाई पक्राउ गरिएको छ ।

३० प्रतिशत गुल्कोज, ३० प्रतिशत चिनी र बाँकी ४० प्रतिशत मह बनाउन प्रयोग हुने कच्चा पदार्थ मिसाउने गरेको पाइएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीमाथि यसबारे अनुसन्धान भइरहेको महानगरिय प्रहरी परिसरले जनाएको छ ।