गठबन्धनमा माधव नेपालले षडयन्त्र गरेको आरोप

   ३० कार्तिक २०७९, बुधबार ११:५८  

कार्तिक ३०, रौतहट । गठबन्धनका तर्फबाट रौतहट १ मा प्रतिनिधि सभाका उम्मेदवार बनेका माधव कुमार नेपालले रौतहटमा गठबन्धन विरुद्ध षडयन्त्र गरेको आरोप लागेको छ ।

रौतहट क्षेत्र नं. २ को ख बाट गठबन्धनका तर्फबाट माओवादीका प्रदेश सभा सदस्य उम्मेदवार अशोक जयसवालले नेता नेपाल विरुद्ध आरोप लगाएका हुन ।

सो क्षेत्रमा गठबन्धनका तर्फबाट जयसवालले उम्मेदवारी दिए पछि नेकपा एसका उम्मेदवार कनिष पटेलले पनि सोही पदमा उम्मेदवारी दर्ता गराएका थिए ।
गठबन्धनका शिर्ष नेताहरुले विज्ञप्ती समेत जारी गरेर गठबन्धनको उम्मेदवारका रुपमा आफूलाई आधिकारिक उम्मेदवार बनाए पनि नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले आफ्ना उम्मेदवारलाई फिर्ता नबोलाएको २ को ख मा उम्मेदवार रहेका अशोक जयसवालले बताए ।

“आफू गठबन्धनको नेताका रुपमा क्षेत्र नं. १ मा सबै दलको भोट माग्ने तर रौतहटकै अन्य क्षेत्रमा गठबन्धन विरुद्ध आफ्ना उम्मेदवार उठाएर माधव नेपालले षडयन्त्र गरेका छन ।” उम्मेदवर जयसवालले भने “अब माओवादी पनि रौतहटमा माधव नेपाललाई भोट दिन आवश्यक छैन ।”