रौतहट क्षेत्र नं. ३ मा छैन गठबन्धन, प्रभु विरुद्ध सबै एकजुट

   २५ कार्तिक २०७९, शुक्रबार १६:५५  

कार्तिक २५, रौतहट । प्रतिनिधि सभा सदस्यका लागी उम्मेदवारी दर्ता भएको दिन रौतहट एकाएक चर्चामा आयो । नेकपा एमालेका स्थायी कमिटि सदस्य प्रभु साहले टिकट पाएर पनि स्वतन्त्र उम्मेदवारी दर्ता गराए पछि उनको उम्मेदवारीले एमाले पार्टी झस्कीयो ।

एमालेका मधेश प्रदेशका सह–इन्चार्ज समेत रहेका प्रभु साहलाई पार्टी विरोधी गतिविधि गरेको भन्दै एमाले केन्द्रीय कार्यालयले उनलाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरे पछि उनी अहिले स्वतन्त्र उम्मेदवारकै हैसियतमा मतदाताहरुसँग मत माग्दै छन ।

नेकपा माओवादी केन्द्रले स्वतन्त्र उम्मेदवार प्रभु साहलाई नै गठबन्धनको उम्मेदवार बनाउने निर्णय गरे पनि रौतहटमा सो निर्णय लागु हुन सकेको छैन । खासगरी माओवादी, काग्रेंस र नेकपा एसका नेताहरुले क्षेत्र नं. ३ मा गठबन्धनको निर्णय मानेका छैनन । माओवादीका तर्फबाट उम्मेदवार रहेका धिरज पटेल अहिले पनि आफ्नै लागी मत माग्दै घरदैलो कार्यक्रममा छन भने रौतहट क्षेत्र नं. ३ ख का प्रदेश सभा उम्मेदवार तथा नेपाली काग्रेंसका जिल्ला सभापति जितेन्द्र यादव पनि प्रभु साहकै विरुद्धमा उम्मेदवार रहेका ओमप्रकाश जयसवालसँगै चुनावी कार्यक्रममा एकसाथ छन ।

प्रभु साहलाई हराउनकै लागी माओवादीका उम्मेदवार धिरज यादव, तत्कालिन जनसरकार प्रमुख माओवादीका प्रदेश कमिटि सदस्य विन्देश्वर यादव सहित माओवादी पार्टीका नेता कार्यकर्ता लागेका छन भने काग्रेंसका जिल्ला सभापति जितेन्द्र यादव तथा नेकपा समाजवादीका तर्फबाट २ को क बाट प्रदेश सभा उम्मेदवार नागेन्द्र यादवको चाहना पनि साह हराउने रहेको छ ।

प्रभु साह विरुद्धको गठबन्धन

पार्टीको केन्द्रीय नेतृत्वले विज्ञप्ती नै निकालेर प्रभु साहलाई गठबन्धनको उम्मेदवार तोके पनि रौतहट क्षेत्र नं. ३ मा त्यसको कुनै असर देखिएको छैन ।
प्रभु साहको विरोध गर्दै एकजुट भएका माओवादी, काग्रेंस र नेकपा एसका नेता कार्यकर्ताले यसपटक प्रभु साह सो क्षेत्रमा नदोहरिने दाबी गरिरहेका छन । पार्टीले जुनसुकै कारवाही गरेपनि अब आफु फिर्ता नहुने माओवादीका उम्मेदवार धिरज पटेल बताउछन ।

“कुनै बेला देश प्रचण्डमुक्त बनाउनु पर्छ भन्ने प्रभु साह अहिले फेरी माओवादीका नेताको खुट्टा ढोग्दै हिडन थालेका छन ।” उम्मेदवार पटेलले भने “केपी ओलीले साहका नातागोता र भनेका मान्छेहरुलाई टिकट नदिए पछि उनले षडयन्त्र गरेका हुन ।” पार्टीले जबरजस्ती समर्थन गर्न दबाव दिए बरु मृत्यु रोज्न सक्ने तर समर्थन कदापी नगर्ने उनले बताए ।

यसै गरी नेपाली काग्रेंसका जिल्ला सभापति जितेन्द्र यादव र नेकपा एसका नेता नागेन्द्र यादवले पनि प्रभु साहलाई कुनै पनि हालतमा साथ नदिने बताए । घरदैलो तथा कोणसभाहरुमा स्वतन्त्र उम्मेदवर ओमप्रकाश जयसवाल, काग्रेंसका जितेन्द्र यादव र नेकपा एसका उम्मेदवार सामुहिक रुपमै मत मागिरहेका छन भने सोही अनुरुपको पोष्टर र ब्यानरहरु समेत उनीहरुले प्रयोग गरेका छन ।

यस क्षेत्रमा नेकपा एमाले भने प्रभु साहलाई हराउन सक्ने उम्मेदवारको पक्षमा उभिने छ । “अहिले सम्मको अवश्था हेर्दा त्यहाँ स्वतन्त्र उम्मेदवार ओमप्रकाश जयसवाल बलियो अवश्थामा छन त्यसैले हाम्रो समर्थन उनैलाई रहन्छ ।” नेकपा एमालेका जिल्ला स्तरीय एक नेताले भने “क्षेत्र नं. ३ मा हाम्रो उम्मेदवार नभएकाले हामीले उनलाई समर्थन गरेका छौं ।”

समर्थन गरेको भनियो तर फिल्डमा त्यस्तो छैन : प्रभु साह

गठबन्धनका केन्द्रीय नेताहरुले आफुलाई समर्थन गर्ने भने पनि धरातलमा त्यो कतै नदेखिएको उम्मेदवार प्रभु साह बताउछन । “मलाई आफै अनौठो लागेको छ । क्षेत्रमा कहि कतै गठबन्धनले सघाएको छैन ।” प्रभु साहले भने “एमाले ले काग्रेंसको भोट मागेको छ, काग्रेंसले स्वतन्त्रको भोट मागेको छ । बिडम्बना पूर्ण अवश्था छ ।”

एमालेले काग्रेंसको भोट मागेर अनैतिक काम गरेको उनको दाबी छ । नेकपा एस र नेपाली कागे्रंस दुवैले स्वतन्त्रको पक्षमा भोट मागेको उनले बताए । केन्द्रीय स्तरमा पार्टीले समर्थन गरे पनि रौतहटमा त्यसको कुनै प्रभाव नदेखिएको उनले बताए ।

“म अनैतिकताको विरुद्ध लडिनै रहेको छु तर काग्रेंस र अन्य पार्टीहरुमा पनि त्यस्कै निरन्तरता देखिन्छ ।” साहले भने “माओवादी केन्द्रले आफ्ना उम्मेदवारलाई कारवाही गरेको सकारात्मक छ तर रौतहटमा नेकपा समाजवादी पार्टी र काग्रेंसका जिल्ला अध्यक्ष पनि पार्टी निर्णय विरुद्ध छन । उनीहरुको बारेमा पनि पार्टीले कदम चाल्नु पर्छ ।” यदि समर्थन गरेको हो भने फिल्डमा देखिने गरी सर्पोट गर्नु पर्ने उनले बताए ।