महिला भलिबल टोली आज स्वदेश फर्कदै

   १५ पुष २०७८, बिहीबार ११:३३  

१५ पौष, रौतहट । एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपको उपाधि विजेता नेपाली महिला टोली आज (बिहीबार) स्वदेश फर्कदै छन् ।

नेपाल भलिबल संघले नेपाली महिला र पुरुष टोली आज बिहान स्वदेश फर्किने जनाएको छ । नेपाली टोली बिहान ११ः१० बजे त्रिभुवन विमानस्थल आईपुग्ने जनाएको छ ।

नेपाली महिला टोली लगातार दोस्रो पटक च्याम्पियन बनेको हो । पुरुषतर्फ भने नेपाल चौंथो स्थानमा रहन बाध्य भयो । उपाधि विजेता नेपाली महिला टोलीलाई सरकारले नगदसहित पुरस्कृत गर्ने भएको छ ।

बुधबार बसेको मन्त्रीपरिषदको बैठकले सेन्ट्रल जोन विजेता खेलाडी, प्रशिक्षक र अफिसियललाई नगद पुरस्कारले सम्मान गर्ने निर्णय गरेको हो ।

मन्त्रीपरिषदको बैठकले उपाधि विजेता १२ जना खेलाडीहरुलाई जनही ५/५ लाख दिने निर्णय गरेको हो । यस्तै बैठकले २ जना प्रशिक्षकलाई जनही ३ लाख र १ जना अफिसियललाई २ लाख नगदले पुरस्कृत गर्ने निर्णय गरेको छ ।