पर्सामा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु

   २१ श्रावण २०७७, बुधबार १२:२५  

साउन २१, रौतहट । पर्सा जिल्लामा कोरोना भाईरस (कोभिड १९)का संक्रमणबाट  थप १ जनाको मृत्यु भएको छ ।
वीरगन्ज महानगरपालिका वडा नम्बर १५ का ४६ वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको नारायणी अस्पतालका डाक्टर निरज सिंहले जानकारी दिएका हुन् ।

वीरगन्जको गण्डक बहुअरीस्थित वीरगन्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा उनको बुधबार बिहान ५ बजे मृत्यु भएको सिंहले पुष्टि गरे ।

साउन १८ गते नारायणी अस्पतालमा गरिएको पीसीआर जाँचका लागि स्वाब संकलन गरिएका ती पुरुषमा साउन १९ गते राति कोरोना भाईरसका संक्रमण पुष्टि भएको थियो । त्यस्तै उनी महुमेहका रोगी पनि थिए, उनमा खोकी, ज्वरोका साथै श्वासप्रश्वासमा समस्या देखिएपछि मंगलबार राति ९ बजे वीरगन्ज हेल्थ केयर अस्थायी कोभिड अस्पताल भर्ना गरिएको थियो ।

त्यस्तै साउन १९ गते सोमबार मात्रै पर्साको जिल्लाको पोखरीया नगरपालिका वडा नम्बर ८ की १८ वर्षिया युवतीको मृत्यु भएको थियो । सोमबार राति मृत्यु भएकी युवतीको स्वाब संकलन गरेर परीक्षण गर्दा मंगलबार अबेर उनमा कोरोना भाईरस (कोभिड १९) का संक्रमण पुष्टि भएको थियो ।