लकडाउनमा मौलाउँदो वेबिनार कल्चर

   १० असार २०७७, बुधबार ०५:२८  

गत १६ जेठमा प्रकृति संरक्षण समाजले कोरोनापछि ‘पोस्ट क्राइसिस’ व्यवस्थापनसम्बन्धी गोष्ठी आयोजना गर्‍यो । माध्यम थियो, वेबिनार । वातावरणविद् अरुण लामाले संयोजन गरेको गोष्ठीमा ४० जना विज्ञले कोरोनापछिको आर्थिक संकट कृषिमार्फत हटाउन सकिने उपाय सुझाए ।

लकडाउनयता चलनचल्तीमा आएको हो, वेबिनार शब्द । भर्चुअल प्लेटफर्ममा गोष्ठी, छलफल र बैठक गर्ने चलनलाई वेबिनार नाम दिइएको छ । ‘कोरोना भाइरसको जोखिम नहुँदो हो त यस्ता गोष्ठी सहरका सुविधासम्पन्न हलमा आयोजना हुन्थे,’ लामा भन्छन्, ‘कोरोना संकटले सबैलाई भर्चुअल दुनियाँमा डोर्‍याएको छ ।’ भर्चुअल संसार अबको युगको माग पनि भएको उनी बताउँछन् । भन्छन्, ‘लकडाउनका कारण भित्रिएका वेबिनार, जुमजस्ता प्रविधिको सुविधा उपयोग गर्दै भविष्यको यात्रा तय गर्नुपर्छ ।’ 

दुई महिनाअघिसम्म पुतलीसडकस्थित ‘भाषाशाला इन्स्टिच्युट’ खासै व्यस्त रहँदैनथ्यो । फोटोसप, माइक्रोसफ्टलगायत स-साना विषयमा दैनिक १५ देखि २० विद्यार्थीले कक्षा लिन्थे । लकडाउनयता इन्स्टिच्युटका सञ्चालक प्रमेश श्रेष्ठको व्यस्तता एकाएक बढेको छ । दैनिक सयभन्दा बढी प्रशिक्षार्थीलाई भर्चुअल माध्यमबाटै सिकाउन व्यस्त छन्, उनी ।

भनाइ नै छ- आवश्यकता नै आविष्कारको जननी हो । नेपाली समाजले प्राविधिक पाटोलाई आत्मसात् गर्न सकेको थिएन, कोरोना संकटले हामीलाई त्यतै धकेलिदियो।

मानसिक स्वास्थ्य सल्लाहदेखि सर्ट फिल्म निर्माण अनि साहित्यिक विमर्शदेखि व्यावसायिक दैनिकीसम्म वेबिनारमार्फत नै चलिरहेका छन्, अहिले । संसारभर वेबिनार सेसन मौलाएको छ, यतिवेला ।

श्रेष्ठका अनुसार इन्स्टाग्राम, फेसबुक, ट्विटरलगायत सामाजिक सञ्जालमा फलोअर्स बढाउनेदेखि ‘डिजिटल मार्केटिङ’, ‘भिडियो सम्पादन’, ‘ग्राफिक्स डिजाइन’, ‘लाइटनिङ’, ‘नेपाली भाषामा एक्सेल ट्युटोरियल’लगायत विभिन्न कोर्स बनेका छन्, वेबिनारमा । ‘हामीजस्तो प्राविधिक क्षेत्रमा काम गर्नेहरूका लागि लकडाउन निकै फाइदाजनक भएको छ,’ श्रेष्ठ भन्छन् ।

स-साना कोर्समा निःशुल्क र व्यावसायिक अभ्यासमा सशुल्क सेवा दिइने गरेको उनी बताउँछन् ।

वेबिनारजस्तै प्लेटफर्म हो, ‘माइक्रोसफ्ट टिम्स’ । ‘जुम’ र ‘वेबिनार’ शैक्षिक गतिविधि, बैठक, संवाद, गोष्ठीलगायत क्रियाकलापमा प्रयोग भइरहेका छन् । यी दुई माध्यम अहिले शिक्षण सिकाइ क्रियाकलापमा बढी प्रयोगमा छन् । अनलाइनमार्फत काम गर्ने प्लेटफर्म हो, ‘माइक्रोसफ्ट टिम्स’ । यो एक प्रकारको ‘भर्चुअल अफिस’ नै हो । त्यसैले हो, बैंक तथा वित्तीय संस्थाको रोजाइमा परेको पनि ।

नबिल बैंकका सिइओ अनिलकेशरी शाहको पनि रोजाइको प्लेटफर्म हो, ‘माइक्रोसफ्ट टिम्स’ । लकडाउनयता उनले बैंकका कर्मचारीसँग निरन्तर बैठक गरिरहेका छन् । हरेक कार्यालयका विभागदेखि कर्मचारीसम्मको निगरानीमा यो उपयोगी भएको शाह बताउँछन् । ‘यतिवेला कर्मचारीसँग आमनेसामने बैठक सम्भव छैन,’ उनी भन्छन्, ‘तर, प्रत्यक्ष भेटेजसरी नै ‘माइक्रोसफ्ट टिम्स’ले बैठकहरू सहज बनाइदिएको छ ।’

आइटीविज्ञ पवन शाक्यका अनुसार यस्ता डिजिटल प्लेटफर्म कोरोना संकटअघि पनि अस्तित्वमा थिए । तर, तिनको सघन प्रयोग थिएन । ‘भनाइ नै छ- आवश्यकता नै आविष्कारको जननी हो,’ उनी भन्छन्, ‘नेपाली समाजले प्राविधिक पाटोलाई आत्मसात् गर्न सकेको थिएन, कोरोना संकटले हामीलाई त्यतै धकेलिदियो ।’