पर्सामा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि

   २० श्रावण २०७७, मंगलवार ११:३९  

साउन २०, रौतहट । वीरगन्जको गण्डकस्थित कोरोना विशेष नारायणी अस्पतालको प्रगोगशालामा सोमबार राति गरिएको परीक्षणमा दुई चिकित्सकसहित पर्सामा थप ३४ जनामा कोरोना भाईरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ ।

नयाँ ३४ जना कोरोना संक्रमितहरुमध्ये दुई जना बारा, एक जना सर्लाही र एक जना सुर्खेतका रहेका छन् । सोमबार राति गरिएको परीक्षणमा संक्रमित हुनेहरुमा सैनिक, पत्रकार र थुनुवासमेत रहेको अस्पतालले जनाएको छ ।

नारायणी अस्पतलका फिजिसियन डा.निरजकुमार सिंहका अनुसार ६ जना महिलासहित १४ वर्ष देखि ५६ वर्ष उमेर समूहका ३४ जनामा कोरोना पुष्टि भएको हो । नारायणी अस्पतालको फार्मेसीमा कार्यरत दुई जनामा पनि कोरोना देखिएको छ ।

संक्रमित दुई चिकित्सक नेसनल मेडिकल कलेज र नारायणी वयोधा अस्पतालका हुन । यहाँ रहेको आर्मी ब्यारेकका थप ३ जना सेनाका जवानमा पनि कोरोना भाईरसका संक्रमण पुष्टि भएको छ ।

पर्साको पोखरिया नगरपालिका २ का तीन जनामा समेत कोरोना पुष्टि भएको छ । त्यस्तै अन्य १५ जना संक्रमित वीरगन्ज महानगरपालिका विभिन्न वडाका बासिन्दा हुन । स्वेच्छाले पैसा तिरेर स्वाब परीक्षण गराएका ९ जनामा पनि कोरोना संक्रमण देखिएको छ । यसैगरी कन्ट्याक्ट ट्रेसिङको क्रममा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाराका दुई संक्रमित कलैया र फेटा ४ का बासिन्दा हुन ।