कोरोना संक्रमितलाई दिएको खाजामा किरैकिरा
साउन १९, रौतहट । विराटनगरस्थित कोरोना भाईरस (कोभिड १९)का उपचार केन्द्रमा रहेका संक्रमितहरूलाई खाजामा किरैकिरा भेटिएपछि विरोध प्रदर्शन गरेका छन । केन्द्रमा सोमबार बिहान दिइएको खाजामा किरा भेटिएको हो ।
बिहान ७ बजे खाजामा दिइएको मटरमा किरैकिरा देखेपछि, खान नसकेको एक संक्रमितले फोनमा बताए । ‘संक्रमित भनेर हेला गरेजस्तो लाग्यो, चेक गरेर खान दिनुपर्ने होइन र ?,’ उनले भनिन ।
पेसाले स्वास्थ्यकर्र्मी ती संक्रमितले यस्तो बेला रोग प्रतिरोधक क्षमता बढाउने खाना दिइनुपर्नेमा चिल्लो–पिरो पुरी र तरकारी दिइएकोमा समेत आश्चर्य प्रकट गरिन । ‘रुघा लाग्दासमेत चिल्लोपिरो खान दिनु हुन्न,’ उनले भनिन ।
खानादेखि शौचालयको सरसफाइसम्म विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड उक्त केन्द्रले पूरा नगरेको उनले बताइन । ‘केन्द्रमा भन्दा घरमै बस्यौं भने चाँडो निको हुन्छौं,’ उनले भनिन, ‘श्रीमान र परिवारजनसँग मलाई यहाँबाट लैजान अनुरोध गरेको छु, यहाँ रोगभन्दा तनावले मरिन्छ ।’
केन्द्र संयोजक ज्ञानबहादुर बस्नेतले खाना पकाउने क्रममा भएको मानवीय त्रुटिले यस्तो हुन गएको बताए । ‘सकेसम्म राम्रै व्यवस्थापन गर्न खोजिएको छ, त्यही पनि बेलाबेलामा थाहा नपाएर यस्तो भइहाल्छ,’ बस्नेतले भने ।
कमसल खालको पुरानो केराउ परेको र राम्रोसँग केलाउँदा पनि कुनैकुनैमा किरा भेटिएको उनले बताए । ‘पकाइसकेपछि पनि देखिएन,’ उनले भने, ‘बिरामीलाई वितरण गरिसकेपछि मटरकेराउ फुटेर किरा बाहिर निस्केको हो ।’ संक्रमितबाट गुनासो आउनेबित्तिकै त्यो सबै फाली पुनः अर्को पकाएर खुवाएको संयोजक बस्नेतले बताए ।
केन्द्रमा दिनको चारै पटक शाकाहारी खाजा–खाना दिइने गरेको उनले जानकारी दिए । उनका अनुसार बिहान ७ र दिउँसो २ बजेको खाजामा कहिले रोटी–तरकारी, कहिले पुरी–तरकारी, कहिले पराठा र कहिले दहीच्युरा दिइन्छ । बिहान ११ र राति ८ बजेको खानामा दाल, भात, हरियो तरकारी, फलफूल, पापड र चिप्सलगायत दिइन्छ । ‘रोग प्रतिरोधक क्षमता बढाउन च्यवनप्राश, अश्वगन्धा र गुर्जो पनि दिन्छौं,’ बस्नेतले भने ।
अहिले ६० जना संक्रमित रहेको उक्त केन्द्रको व्यवस्थापन प्रदेश १ सरकारले हेर्छ । प्राविधिक जनशक्ति र अन्य सहयोग भने संघीय सरकारअन्तर्गतको कोसी अस्पतालले उपलब्ध गराउँछ ।
कोभिड–१९ उपचार केन्द्रमा संक्रमितलाई दिइने खाना स्वास्थ्य मापदण्डअनुरुप नभएको प्रति आफ्नो ध्यानाकर्षण भएको कोसी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दासले बताए । ‘प्रदेश १ सरकार अन्तर्गत उक्त केन्द्र रहे पनि त्यहाँ कार्यरत कोसीका चिकित्सकहरू र सरोकारवाला अधिकारीलाई संक्रमितलाई तोकेको मापदण्डअनुरूप स्वास्थ्यवर्धक खाना वितरण गर्न सुझाव दिएको छु,’ उनले भने ।