दाङमा नक्कली सई र असई बनेर होटल सञ्चालकलाई धम्क्याउने दुईजना पक्राउ

   १९ श्रावण २०७७, सोमबार १२:४०  

साउन १९, रौतहट । दाङमा नक्कली प्रहरी बनेर होटेल सञ्चालकलाई धम्क्याउने दुई जनालाई जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ गरी सार्वजनिक गरेको छ ।

प्रहरीको नक्कली परिचयपत्र देखाएर होटेल सञ्चालकलाई धम्क्याउने घोराही उपमहानगरपालिका वडा नं। ९ कर्मटुवा बस्ने ३० वर्षीय सुरोज नेपाली र सल्यान भलचौर निवासी ३० वर्षीय गोपाल मल्ललाई पक्राउ गरिएको दाङका प्रहरी प्रमुख एसपी गणेश चन्दले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक सुमित खड्काले नेपालीले आफू जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी नायब निरीक्षक ‘योगेन्द्र हमाल हुँ’ भन्दै घोराही १५ ट्राफिक चोकमा रहेको लुम्बिनी होटल र मालिका भ्याली भ्यू होटलमा गई होटल संचालकहरूलाई अभद्र व्यवहार गरेको तथा मासिक रूपमा रकम दिनुपर्छ, भनी धम्क्याएको पाइएकाले उनीहरुलाई पक्राउ गरिएको बताए ।