सिन्धुपाल्चोकको मेलम्चीमा पहिरो, ५ जनाको शव निकालियो
साउन १९, रौतहट । अविरल भईरहेको वर्षाका कारण मेलम्चीमा गएको पहिरामा पुरिएकहरुमध्ये पाँच जनाको शव फेला परेको छ । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ११ को पहिरोमा पुरिएकाहरुमध्ये पाँच जनाको शव फेला परेको छ, तर मृतकमध्ये दुईजनाको मात्र पहिचान भएको छ ।
वीरगञ्ज निवासी प्रदीप चौरसिया र राजेश चौधरीको शव पहिचान भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता डीएसपी माधव काफ्लेले बताए । त्यस्तै, अहिले अन्य मृतकको पहिचान हुन बाँकी छ ।
उनीहरु सबै कभर्ड हल निर्माणमा कार्यरत मजदुरहरु हुन । कभर्ड हल निर्माणमा दुई भारतीय नागरिकसहित नौ जना मजदुर खटिएका थिए। उनीहरु बस्दै आएको टहरोलाई गएराति करिब दुई बजेतिर आएको पहिरोले पुरेको थियो ।
प्रहरीले घटनास्थलबाट भारतीय नागरिक बारु साहलाई जीवितै उद्धार गरेको थियो । अहिले उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको डीएसपी काफ्लेले बताए । उनलाई थप उपचारका लागि धुलिखेल लैजाने तयारी गरिए पनि बाटो अवरुद्ध भएकाले लैजान नसकिएको उनले बताए ।
अर्का एक भारतीय नागरिक राजेन्द्र चौरसिया पनि पहिरोमा पुरिएका छन । भारतीय नागरिकहरुको ठेगाना खुलेको छैन ।