बाढीको कारणले विस्थापित परिवार तीन दिनदेखि सडकमा

   १७ श्रावण २०७७, शनिबार १४:०३  

साउन १७, रौतहट । अविरल वर्षाको कारण नदीमा आएको बाढी बस्तीमा पसेर विस्थापित भएका कैलाली भजनीका दुई हजार परिवार शुक्रबार साँझसम्म घर फर्कन सकेका छैनन्। तीन दिनदेखि उनीहरू हुलाकी सडक किनारमा बसिरहेका छन्।

विस्थापित परिवारका घरमा पानीको सतह नघटेकाले अहिलेसम्म उनीहरु घर फर्कन नसकेको स्थानीयले बताएका छन्। हुलाकी सडककिनारमा उनीहरू पाल टाँगेर बसेका छन्। हुलाकी सडकको कृष्णनगरदेखि सोनाफाटासम्मको उच्च स्थानमा विस्थापित परिवार बसिरहेका छन्।

‘घरमा ७, ८ फिट सम्म बाढीको पानी पसेको छ, लत्ताकपडा, खाद्यान सबै पानीले नष्ट भएको,’ स्थानीय कृष्ण चौधरीले बताए, ‘हुलाकी सडकमा तीन दिनदेखि बसेका छौं, कहिले पानी सुक्ने हो र हामी घर फर्कन पाउने हो केही टुंगो छैन।’ बाढीका कारण विस्थापित भएकाले खानाको समस्या भएको बताएका छन्।

भजनी नगरपालिका–२, ३, ५ र ८ मा बुधबार नदीको बाढी पसेर जलमग्न भएको छ। अहिलेसम्म पानीको सतह नघटेकाले भजनीमा कति घर भत्किए, कति नोक्सान भयो भन्ने विवरण संकलन गर्न नै नसकिएको प्रहरी नायब उपरीक्षक विष्टले बताएका छन्। बाढीले ठूलो धनमालको क्षति भएको छ। बुधबार आएको बाढीले जिल्लाभरमा भएको क्षतिको विवरण अझै संकलन हुन नसकेको उनले बताए।