सुरक्षाकर्मीकै संरक्षणमा रौतहटमा व्यापक तस्करी

   ६ कार्तिक २०७८, शनिबार १५:३३  

६ कार्तिक, रौतहट । भारतीय बजार सँग सिमा जोडिएको रौतहटमा संगठित तथा पोके तस्करहरुले व्यापक रुपमा तस्करी शुरु गरेका छन ।

पछिल्लो समय रौतहटको सिमाक्षेत्रमा साना पोके तस्कर देखि लिएर ठूला संगठित तस्करहरुको कारोबार मौलाएको छ । सुरक्षाकर्मीहरुको मिलेमतोमै रौतहटका मुख्य नाकाहरुबाटै अवैध रुपमा समान ओसार पसार भइरहेको छ ।

भारतीय सामान रौतहट छिर्ने मुख्य नाका गौर भन्सारबाट कर्मचारीकै मिलेमतोमा केही व्यापारीले राजश्व छल्दै कम मूल्यांकन राखेर प्रज्ञापन पत्र बनाएर सँगठीत रुपमा कारोबार नै शुरु गरेका छन । तस्करहरुले लाखौं रुपैया राजश्व तिर्नु पर्ने ठाँउमा आयातित बस्तुको मूल्यांकन तथा परिमाण न्यून राखेर केही हजार मात्रै राजश्व बुझाएर भन्सार कर्मचारी तथा सुरक्षाकर्मीलाई समेत प्रलोभनमा पारी दैनिक लाखौं रुपैया बराबरको रेडिमेड कपडा तथा मेशिनरी पार्टसको तस्करी शुरु गरेका छन ।

मुख्य भन्सार नाका अगाडिको विद्युतिय पोलमा प्रशासन, भन्सार विभाग तथा गौर भन्सार कार्यालय समेतले निगरानीका लागी सिसिटिभी जडान गरेका छन । तर तस्करीका दृश्य र भन्सार कर्मचारीको बदमासीहरु भने क्यामेराले कैद नै गर्न सकेको छैन । “जिल्लामा अहिले पोके तस्करहरु मात्रै होइन पिकअप गाडीबाटै तस्करी भइरहेको छ । कर्मचारी र सुरक्षाकर्मी मिलेका छन त्यसैले ती सामान समातिदैन ।” नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सार कर्मचारीको मासिक नजराना रकम तोकिएको छ ।”

सूचना संकलनका राखिएका सादा पोशाकका प्रहरी कर्मचारीले नै तस्कर र प्रशासन बिच पुलको काम गरिरहेका छन । “कारोबार शुरु गर्नु भन्दा पहिले घुमावा (सादा पोशाकका प्रहरी) हरुलाई नै फकाउनु पर्छ ।” तस्करीमा सँलग्न एक कारोबारी नाम नछाप्ने शर्तमा भन्छन “प्रहरीको कुन युनिटलाई कति रकम दिने र हाकिम अनी क्षेत्रको टोलिलाई कति रकम दिने सबै कुरा घुमुवाले नै तय गर्छन ।”

गौर भन्सार नाका बाटै तस्करी भएर आएको सामान जिल्ला प्रहरी कार्यालयको बाटो हुदै गढवा रहेको बसपार्क सम्म पुग्ने गरेको छ । भन्सार देखि बसपार्क सम्म झण्डै आधा दर्जन प्रहरीका पिकेट पार गरेर जादाँ चेकजाँचमा खटेका प्रत्येक सुरक्षाकर्मीले रकम बुझ्ने गर्दछन ।

पूर्वी नाका बाट मदिरा र खाद्यान्न तस्करी

शसस्त्र प्रहरीका उच्च अधिकारीको संरक्षणमा सदरमुकाम भन्दा पूर्वमा रहेको लक्ष्मीपुर बेलबिछवा र ब्रह्मपुरी बाट सबै भन्दा बढी मदिरा र खाद्यान्न सामग्रीको तस्करी भइरहेको छ । बिहार सरकारले मदिरामा प्रतिबन्ध लगाए पछि तस्करहरुले यो नाका बाट प्रत्येक दिन हजारौ कार्टुन मदिरा भारत पठाइरहेका छन । लक्ष्मीपुरमा रहेको सशस्त्र प्रहरीको बिओपी र नेपाल प्रहरीको चौकीको मिलेमतोमा सो क्षेत्रमा ठूलो तस्करी भइरहेको छ ।

सदरमुकाम भन्दा पूर्व पट्टि रहेको बेलबिछवा र सो सँगैको ब्रह्मपुरीबाट भारतीय गाँउ आदमबान र मुसाचक सम्म तस्करहरुले मदिरा पु¥याउने गर्दछन । कुनै समय भारतीय कुखुराको चल्ला तस्करीको लागी बदनाम यो ठाँउमा अहिले मदिरा तस्करी निकै फस्टाएको छ ।

पश्चीमी नाकाबाट चल्ला र खाद्यान्नको तस्करी

तत्कालीन माओवादी सशस्त्र आन्दोलनको बेला लक्ष्मीपुर र बंकुलमा रहेको छोटि भन्सार कार्यालय विस्थापित भए पछि पूर्वी र पश्चीमी यी दुवै नाका अहिले तस्करलाई लागि गोल्डेन गेट भएको छ । पश्चीमी नाका बंकुल बाट कुखुराका चल्ला, खानेतेल, चिनी, दाल, मोटर तथा स्पेयर पार्टस तस्करी हुने गरेको छ ।

सिमावती भारतीय बजार घोडासहनबाट झरोखर पोखरी हुदै नेपाली सिमामा तस्करहरुले सामान भित्राउने गर्दछन । यसरी आएको सामान बंकुल बाट सोनरनिया, शितलपुर बैरगनिया हुदै कटहरीया बजार सम्म पुग्ने गर्दछ । कटहरीया आइपुगेको राजश्व छलेको सामानहरु देशको राजधानि काठमाण्डौं सम्म पुग्ने गर्दछ । प्रहरीको उच्च अधिकारीहरु समेतको मिलेमतोमा अवैध रुपमा भित्रिएको सामान बजार पुग्ने गर्दछ ।

प्रहरीका घुमुवा नै “लाइनर”

सूचना संकलनका राखिएका सादा पोशाकका प्रहरी कर्मचारीले नै तस्कर र प्रशासन बिच पुलको काम गरिरहेका छन । “कारोबार शुरु गर्नु भन्दा पहिले घुमावा (सादा पोशाकका प्रहरी) हरुलाई नै फकाउनु पर्छ ।” तस्करीमा सँलग्न एक कारोबारी नाम नछाप्ने शर्तमा भन्छन “प्रहरीको कुन युनिटलाई कति रकम दिने र हाकिम अनी क्षेत्रको टोलिलाई कति रकम दिने सबै कुरा घुमुवाले नै तय गर्छन ।”

सुरक्षा निकायको जिल्ला कार्यालय र क्षेत्रका कार्यालय दुवैले नाकाहरुमा घुमुवा खटाएको छ । घुमुवा प्रहरी राख्न नपाउने नियम भए पनि सूचना संकलकका रुपमा प्रहरीले उनीहरुलाई परिचालन गर्ने गरेको छ । तर सूचना संकलकको रुपमा नाम फेरिए पनि उनीहरुले रकम उठाउने पुरानो कामलाई भने परिवर्तन गर्न सकेका छैनन ।

पछिल्लो समय प्रदेश २ का सबै जसो नाकाहरुबाट व्यापक तस्करी भइरहेको छ । प्रदेश नम्वर २ को सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, वारा र पर्सा यतिखेर अबैध कारोवारीहरुको लागि स्वर्ग बनेको छ । प्रदेश नम्वर २ मा अहिले तस्करी गर्नेहरु मालामाल भएको श्रोतको दाबी छ । श्रोतका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी सहित जिल्लाका सुरक्षा निकायका प्रमुखहरुले यस्ता अबैध कारोवारको लागि सेटिंग मिलाएर संगठित रुपमा तस्करी कार्यलाई संरक्षण दिएका छन ।

धनुषाको जटही, महोत्तरीको जलेश्वर, मधवा, बथनाहा, सर्लाहीको त्रिभुवननगर, हनुमान नगर, फेनहरा, कनौली, बलरा, छतौना, रौतहटको ब्रम्हपुरी, वेलविछवा, गौर, बन्जरहा, औरैया, रामपुरखाप, लतमरी, महुलिया, कोपवा, बंकुल बाराको कचोर्वा, सिम्रौनगढ, सहित पर्साको पिपरा पोखरिया, भिसवा लगायतको दर्जनौ नाकाहरु अहिले तस्कारी कार्य गर्नेहरुको लागि स्वर्ग बनेको छ ।