गुल्मीमा पहिरोबाट एकै परिवारका ४ जनाको मृत्य, एक जना भारतमा

   १७ श्रावण २०७७, शनिबार ११:३१  

साउन १७, रौतहट । निरन्तर भईरहेको वर्षासंगै गुल्मीमा पहिरोको कारणले घरमाथि ढुंगा खस्दा एकै परिवारका चार जनाको मृत्यु भएको छ ।

गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर ०५ का टाहाटिम आटीपाटामा पहिरोले गर्दा घरमाथि ढुंगा खसेर च्याप्दा चार जनाका मृत्यु भएको हो । मृत्यु हुनेहरुमध्ये ३० वर्षकी बिना बोटेमाझी, उनका छोराहरु ९ वर्षका सागार, ७ वर्षका हेमन्त र १० महिनाकी छोरी बिनिताको घटनास्थलमै मृत्यु भएको वडा अध्यक्ष हरिप्रसाद ज्ञवालीले जानेकारी दिएका हुन् ।

राजु माझी विदेशमा, श्रीमती बीना र तीन छोराछोरी पहिरोमा…

उनीहरुको पाँच जनाको परिवार रहेकोमा एक जना भने रोजगारीको सिलसिलामा भारतमा रहेको बताइएको छ ।

यो घटना शुक्रबार राति करिब साढे सात बजेको हो । घटनास्थल जिल्ला सदरमुकाम तम्घासबाट पूर्वतर्फ करिव ४० किलोमिटर टाढा पर्दछ ।

सबैको शव राति नै स्थानीय र प्रहरी मिलेर निकालेका थिए । घटनास्थलमा इलाका प्रहरी चौकी रिडी र इलाका प्रहरी चौकी जोहाङ्गको टोली परिचालन गरिएको थियो ।

सोही स्थानमै अन्य केही घर जोखिममा रहेकाले तत्काल सुरक्षित स्थानमा बस्न आग्रह गरिएको वडा अध्यक्ष ज्ञवालीले बताए ।