साफ च्याम्पियनशिपमा उपाधि जित्ने नेपालको सपना अधुरै
माल्दिभ्स । साफ च्याम्पियनशिप फुटबलको उपाधि जित्ने नेपालको सपनालाई भारतले अधुरै राखेको छ ।भारतले नेपालसँग फराकिलो जित हासिल गरेको छ ।
भारतले प्रतियोगिताको १३ संस्करणमध्ये आठौँ पटक प्रतियोगिताको उपाधि जित्ने क्रममा पहिलो पटक फाइनल खेलिरहेको नेपाललाई ३–० ले पराजित गरेको हो ।
माल्दिभ्सको राष्ट्रिय रङ्गशालामा भएको खेल कुनै पनि दृष्टिकोणबाट नेपालको पक्षमा देखिएन ।
खेल सुरु हुनुभन्दा अगाडि नै नेपालका कुवेती प्रशिक्षक अब्दुल्ला अल मुताइरीलाई मैदानमा जान नपाउने नियम लगाइयो । यसले नेपाली टोलीको मनोबल खस्किएको थियो । जसपछि निरन्तर वर्षाका माझ सुरु भएको खेलमा नेपालले चाहे अनुसारको फुटबल खेल्न सकेन ।
भारतीय कप्तान सुनिल क्षेत्रीले प्रेरित भारतले खेल अवधिभर नेपाललाई दबावमा राख्यो नै, दोस्रो हाफमा दक्षिण एशियाको बादशाहको असली रूप देखायो । र नेपाललाई एकपक्षीय ढङ्गले पराजित गर्यो।
नेपालले जारी प्रतियोगितामा दुवै खेल भारतसँग मात्रै हारेको हो । खेल विश्लेषक सञ्जीव मिश्रका अनुसार नेपाल पहिलो पटक उपाधि जित्ने सपनाका कारण दबावमा थियो, जुन दबावमा भारत थिएन ।