साफ च्याम्पियनशिपमा नेपालको बलियो शुरूआत
१९ असोज, रौतहट । साफ च्याम्पियनशिपमा नेपालले बलियो शुरुवात गरेको छ । दुई दशकको अवधिमा १३ औँ संस्करणसम्म आइपुग्दा दक्षिण एशियाली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता साफ च्याम्पियनशिपको फाइनलसम्म पुग्न नसकेको नेपालले यसपालि बलियो शुरूआत गरेको छ।
माल्दिभ्सको मालेमा सञ्चालन भइरहेको प्रतियोगिताको पहिलो दिन बलियो ठानिएको आयोजक माल्दिभ्सलाई १–० ले हराउँदै नेपालले प्रतियोगितामा प्रभावशाली शुरूआत गरेको थियो ।
सोमवार राति तनावपूर्ण देखिएको अर्को खेलमा श्रीलङ्कालाई ३–२ ले पराजित गरेपछि नेपाल अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ भने प्रतियोगितामा दाबेदारी समेत गरेको छ ।
दुई खेलसँगै नेपालको ६ अङ्क बनाउन सफल भएको छ । सोमवार नै भारतसँग १–१ को बराबरी खेलको बाङ्ग्लादेश ४ अङ्कका साथ दोस्रो स्थानमा छ । भारत तेस्रो तथा श्रीलङ्का र माल्दिभ्स अङ्कविहीन छन्।
साफ च्याम्पियनशिप दक्षिण एशियाली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता हो।
जारी संस्करणमा दक्षिण एशियाका पाँच राष्ट्रहरू नेपाल, भारत, माल्दिभ्स, बाङ्ग्लादेश र श्रीलङ्का गरी पाँच राष्ट्रले भाग लिइरहेको यो प्रतियोगितामा सबै राष्ट्रले एकले अर्काेसँग (राउण्ड रोविन लीग) खेल्नेछन् ।
कोरोनाभाइरस सङ्क्रमणको जोखिमबीच भुटानले यसपालि टोली पठाएन भने पाकिस्तान फुटबल फिफाबाट प्रतिबन्धमा परेकोले कारण सहभागी हुन पाएन ।
बीबीसीको सहयोगमा






