नेपालमा थप २७४ जनामा कोरोना संक्रमण पुष्टि, २२७ जना डिस्चार्ज

   १५ श्रावण २०७७, बिहीबार १७:३९  

साउन १५, रौतहट । नेपालमा पछिल्लो २४ घण्तामा थप २ सय ७४ जनामा कोरोना भाईरसका संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ हजार ३ सय ४ जनामा गरिएको परीक्षणमा २७४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिएका अनुसार बिहीबार डिस्चार्ज हुनेको संख्या २२७ रहेको छ । हालसम्म डिस्चार्ज हुनेको संख्या १४ हजार २४८ रहेको छ । हाल सक्रिय संक्रमितको संख्या ५ हजार २२७ जना रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै क्वारेन्टिनमा १३ हजार २०१ जना रहेका छन ।

यस्तै पर्साको वीरगञ्ज—७ का ७० वर्षीय वृद्धको पनि कोरोना भाईरसका कारण मृत्यु भएको छ । मुटु र मधुमेह रोगका विरामी उनी एक निजी अस्पतालमा निमोनियाको उपचार गराइरहेका थिए । पर्सा वीरगञ्जकै वडा नम्बर ५ का ६८ वर्षीय पुरुषको पनि कोरोनाका कारण निधन भएको छ ।

साउन ७ गते कोरोना पुष्टि भएका ती पुरुष मृगौला सम्बन्धी समस्याबाट पीडित थिए । झाडापाखालाको उपचारका लागि विभिन्न निजी अस्पतालमा गएपनि निको नभएपछि नारायणी अस्पताल भर्ना भएका थिए । त्यहाँ आइसीयूमा राखेर उपचार सम्भव नभएपछि नेशनल मेडिकल कलेजमा भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा निधन भएको प्रवक्ता डा। गौतमले बताए ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५२ पुगेको छ ।