चार महिनापछि खुल्यो होटल व्यवसाय

   १५ श्रावण २०७७, बिहीबार १५:५३  

साउन १५, रौतहट । कोरोना भाईरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले देशभर लागू गरेको बन्दाबन्दीको चार महिनापछि होटल तथा रेस्टुराँ व्यवसाय सञ्चालनमा आएका छन् ।

होटल व्यवसाय सञ्चालनमा आएपनि अन्तर्राष्ट्रिय हवाई उडान सूचारु नहुँदासम्म ठूला होटलहरुले ग्राहक नपाउने निश्चित छ । हवाई उडान सूचारु भएपछि पनि ग्राहक कम हुने भएकाले होटलहरुबीच अस्वस्थ प्रतिस्पर्धा हुनसक्ने सम्भावना देखिएको व्यवसायीहरुले बताएका छन् ।

सरकारले साउन ६ गतेबाट औपचारिक रुपमा बन्दाबन्दी नरहेको घोषणा गर्दै विभिन्न क्षेत्रलाई सूचारु गराएको थियो । त्यस्तै साउन १५ गतेदेखि पर्यटन क्षेत्र सञ्चालन गर्न स्वीकृति दिने निर्णय समेत गरेको थियो । त्यसैले आजैदेखि होटल तथा रेस्टुराँ लगायत ट्रेकिङ, ट्राभल र पर्वतारोहणका कार्यालयहरु सञ्चालनमा आउने भएका छन् ।

सरकारले पर्यटन क्षेत्रलाई सूचारु गर्न दिएपनि होटल सञ्चालन गर्न समस्या रहेको होटल व्यवसायीहरुले बताएका छन् । खासगरी तारे होटलका ग्राहक पर्यटक भएकाले अन्तर्राष्ट्रिय उडान सञ्चालन नहुँदासम्म होटल सञ्चालन गर्नुको कुनै अर्थ नभएको व्यवसायीहरुले बताएका छन् ।

बाह्य उडान सञ्चालनमा आएपछि पनि पर्यटक आउने सम्भावना कम भएकाले होटलमा ग्राहक नै नहुने हुन् कि भन्ने चिन्तामा व्यवसायीहरु छन् । व्यवसायीहरुले पर्यटकको संख्या बढाउन अन्तर्राष्ट्रिय बजारमा नेपालमा कोभिड १९ संक्रमणको जोखिम कम रहेको सन्देश सरकारले प्रवाह गर्नुपर्ने बताएका छन् ।

व्यवसायीहरुले अन्तराििष्ट्रय उडान सूचारु भएपछि केहि पर्यटकहरु आउन सक्ने भएकाले ती पर्यटकलाई आफ्नो होटलमा तान्न पाँचतारे होटलहरुबीच प्रतिस्पर्धा हुनसक्ने देखिएको बताएका छन् । सिमित ग्राहकलाई आफुतिर तान्न होटलहरुबिच अस्वस्थ प्रतिस्पर्धा हुने सम्भावना रहेको पनि होटल व्यवसायीहरु बताउँछन ।

होटल संघकी अध्यक्ष सृजना राणाले पाँचतारे होटलहरुबीच शुल्कमा अस्वस्थ प्रतिस्पर्धा हुन सक्ने सम्भावना देखिएको बताइन् । होटलको रेटमा अस्वस्थ प्रतिस्पर्धा भए यसले नेपालको होटल क्षेत्रलाई नै बिगार्ने राणाले बताइन् । उनले ग्राहक तान्नका लागि रेट घटाउने काम भए होटल क्षेत्रलाई लामो समयसम्म असर गर्ने बताइन् । होटलको गुणस्तर र सेवा कमजोर हुनेगरी रेटमा प्रतिस्पर्धा गर्न नहुने राणाले बताइन् ।