किन दुई बालिका चौबीसै घण्टा बन्धक
साउन १५, रौतहट । आमाले दोस्रो विवाह गरेर गएपछि गुल्मीको ईस्मा गाउँपालिका–२, पालुखा ठुलाखोला गाउँका दुई अवोध बालिकाको बिचल्ली भएको छ । ती बालिकाका बाबु २७ वर्षीय पदम मुखियालाई कमाउन जानु कि घरमै बसेर बालबालिकाको हेरचाह गर्नु भन्ने खालको दोहोरो समस्या छ ।
दुई दिदीबहिनी मध्ये जेठीको उमेर दुई वर्ष र कान्छीको एक वर्ष नपुग्दै आमाले दोस्रो विवाह गरेर गएपछि यतिबेला यी दिदीबहिनीको बिचल्ली भएको हो । बाबु सँधैजसो जाँडरक्सी सेवन गरेर हिँड्ने, घरमा अरु कोही नभएका कारण ती बालिका घरमै असहाय बनेर बस्नुपर्ने अवस्था आएको हो ।
काम गर्न जानुपर्दा समेत बाबुले दुवै छोरीलाई घरभित्र थुनेर जानुपर्ने बाध्यता छ । कहिलेकाहीँ काम गर्न गएका बाबु उतै अल्मलिँदा, जाँड–रक्सी खाएर बरालिएको अवस्थामा घरमा छोरीहरुको बिचल्ली हुने गरेको छ । बाबु नआउन्जेल उनीहरु घरभित्रै बन्धकजस्तो भएर भोकैतिर्खै बस्नुपर्ने अवस्था रहेको छिमेकीहरुको भनाइ छ ।