वर्षौ देखी धान किसानको एउटै पीडा

   २९ भाद्र २०७८, मंगलवार १५:३४  

२९ भदौं, रौतहट । संसारमा करिब १६ करोड ७१ लाख हेक्टरमा धान खेती भई ७८ करोड २० लाख मेट्रिक टन उत्पादन भएको पाइन्छ जसको ९० प्रतिशत उत्पादन तथा खपत एशियाली मुलुकहरुमै हुन्छ । उत्पादनको दृष्टिले विश्वमा सबैभन्दा बढी धान उत्पादन गर्ने देश चीन रहेको छ र त्यसपछी क्रमशः भारत, इन्डोनेशिया, बंगलादेश, भियतनाम प्रमुख धान उत्पादक राष्ट्रहरु हुन् भने नेपाल १७ औं स्थानमा पर्दछ ।

धान हाम्रो खाद्यान्न मात्र नभएर संस्कृतिको धरोहर पनि हो । नेपाली समाजका हरेक सामाजिक एवम् सांस्कृतिक कार्यहरुमा धानकै प्राधान्यता रहने हुँदा धान समाजमा अभिन्न पक्षको रुपमा स्थापित छ । हरेक नेपालीको जन्मदेखि मृत्यु सम्मका कर्ममा धानको प्रयोग अपरिहार्य हुन्छ भने वर्षभरी मनाइने विभिन्न चाडपर्वहरुमा समेत यसकै बर्चस्व रहन्छ ।

धन नदिने बाली धान

उर्वर भूमी भएर पनि कृषकलाई चाहिने अत्यावश्यक सामग्रीहरुको अभावका बारेमा सरकारले कुनै वास्ता नगर्दा धान उत्पादन गर्ने रौतहटका कृषकहरु आन्दोलित भएका छन ।

खेतमा धानबालि लगाएका किसानले मलखादको चरम अभाव भोगेको र कृषि सामग्रीकै अभावमा उत्पादन घटेको भन्दै आन्दोलन गरेका हुन । रौतहटका बजारहरुमा यूरिया मलको अभाव भएको र भारतीय सिमाक्षेत्रबाट ल्याउदा समेत कानूनी झन्झटको सामना गर्नु परेको किसानको दुखेसो छ । नेपाली बजारमा नपाइने र भारतबाट समेत ल्याउन नदिए पछि किसान आक्रोशित बनेका छन ।

किसानले माँग गरे बमोजिमको मलखाद नेपाल सरकारले उपलब्ध गराउन सकेको छैन । वर्षेनी मलखादको समस्याबाट भोग्नु परेका किसानले खेती गर्न सास्ती खेप्नु परेको छ ।

बजारमा सर्वसुलभ रुपमा कृषि मलको व्यवस्था, ट्रयाक्टरमा लाग्ने कर खारेज, कृषि बिमा, कृषि ऋणको व्यवस्था तथा किसानलाई पेन्सनको व्यवस्थाको माँग गर्दै किसानहरुले प्रर्दशन गरेका छन । सरकारले किसानका समस्याहरुको बारेमा ध्यान नदिदा दिनप्रतिदिन खाद्यान्न आपूर्तिको दर बढदै गएको तथा तराई मधेशका जग्गाहरुको उर्वराशक्ति तथा उत्पादनमा ह्रास आउन थालेको कृषकहरुले बताए ।

मलखादको माँग र आपूर्तीमा छैन तालमेल

अहिले यूरिया मल उपलब्ध हुन नसक्दा १० बोरा लागत हुने किसानले २ बोरा मुस्कीलले पाउने गरेको कटहरीया नगरपालिकाका किसानहरुले बताए । किसानहरुले माँग बमोजिम यूरिया मल पाउन नसकेको स्थानिय डिलर आश महम्दले बताए । कटहरीया वडा नं. ४ को एउटा वडामा १५ सय भन्दा बढी किसान रहेको र उनीहरुका लागी कहिले ५० बोरा कहिले ३० बोरा यूरिया मल कृषि सामग्रीले उपलब्ध गराउने गरेको डिलर आश महम्दले बताए ।

डिलरले पाएको ५० बोराबाट प्रत्येक किसानलाई भाग लगाउदा ५० किलो आवश्यक्ता भएको किसानले ५ किलो मात्रै पाउने गरेको उनले बताए । यसरी कृषकको आवश्यक्ता अनुसार मल उपलब्ध गराउन नसक्दा किसानले भारतबाट समेत आफैले लुकिछिपी मल ल्याउने गरेका छन । भारतमा पनि किसानका लागी अनुदानमा आएको मलनै केहीले विक्रि वितरण गर्ने गरेको र उनीहरुबाट नै नेपाली किसानहरुले समेत खरिद गर्ने गरेका छन ।

किसानका नाममा व्यपारीले तस्करी गरेर ल्याउने गरेको र उनीहरुले व्यापार गर्ने भएको भन्दै सिमामा खटिएका सशस्त्र प्रहरी बलले नाकामा मलखादमा कडाई गर्ने गरेका छन ।

खाद्यान्नमा बढदो परनिर्भरता

केही दशक अघि धान निर्यातको इतिहास बोकेको नोपलले हाल हरेक वर्ष विदेशबाट वार्षिक ३० अरब भन्दा बढी रुपैयाँको धान आयात गर्ने गर्दछ । स्वदेशी माटोमा प्रयाप्त परिमाणमा उत्पादन नभई धान चामलमा परनिर्भरता हुनुमा बढ्दो जनसख्या बृद्धिको तुलनामा धान उत्पादनको बृद्धि दर कम हुनु, खेतीयोग्य जमिन खण्डिकरण तथा घडेरिकरण, मलखाद तथा श्रम शक्तिको अभाव, सिचाई, भण्डारण तथा बजार पूर्वाधार प्रयाप्त नुहुनुआदि प्रमुख कारणहरु छन ।

यसका साथै गुणस्तरीय बीउको अभाव तथा नयाँ र उच्च उत्पादन दिने जात भन्दा पुरानै जातका धानका बिउहरु किसानलाई उपलब्ध गराइनु, बीउ तथा जात फेर्ने परिपाटिको विकास नहुनु, मसिना तथा वासनादार चामलको उपयोगमा वृद्धि तथा खाद्यान्न बालीको उपयोगमा विविधिकरण नुहुनु, आयातीत धानको गुणस्तर र मूल्यमा स्वदेशी धानले प्रतिस्पर्धा गर्न नसक्नु आदि कारणबाट नेपालमा धान÷चामल माथिको परनिर्भरता दिनानुदिन वढ्दो छ ।

रौतहट जिल्लामा ६५ हजार ९६९ हेक्टर कुल खेती योग्य जग्गा रहेको जसमा ४० हजार ६२५ हेक्टर जग्गामा धान खेती गर्ने गरिन्छ भने बाँकीमा अन्य खेती किसानहरुले गर्छन । मौसमको प्रतिकुलता, समयमा मलखाद्य उपलब्ध नहुनु र विभिन्न किराहरुको प्रकोपका कारण रोग लागि दाना नलाग्नाले उत्पादनमा धेरै ह्रास आउने गर्छ ।

नेपालमा आ.व. २०७६/०७७ मा १४ लाख ५८ हजार हेक्टर क्षेत्रफलबाट ५५ लाख ५० हजार मेट्रिक टन धान उत्पादन भएको थियो । अघिल्लो वर्षको तुलनामा धानको क्षेत्रफल र उत्पादनमा क्रमशः २.२० प्रतिशत र १.०५ प्रतिशत कमि भए को तथ्याङ्कले देखाउछ ।

नेपालमा उपलब्ध नभएपछि किसानले भारतीय क्षेत्रबाट ल्याएका मलखादहरु पनि सिमाक्षेत्रमा सुरक्षाकर्मीले खोस्दा किसान पलायन हुन बाध्य भएको पूर्व प्रदेश सभा सदस्य कुन्दन कुशवाहाले बताए । “किसानका समस्याका बारेमा केन्द्र र प्रदेश सरकारलाई पटक पटक अवगत गराए पनि कुनै सुनुवाई भएको छैन ।” किसान आन्दोलनको अगुवाइ गरिरहेका प्रदेश सभा सदस्य कुशवाहाले भने “भन्सारको तथ्याङ्कले पनि हामी खाद्यान्नका लागी समेत अन्य मुलुकमा परनिर्भर हुनथालेको पुष्टी गर्छ ।”

सरकारले कृषि यन्त्रमा पनि राजश्व लगाएका कारण नेपाली बजारमा किसानले खेतीमा प्रयोग गर्ने ट्रयाक्टर महङ्गोमा किन्नु पर्ने तथा बैंकहरुले पनि किसानलाई कर्जा लगानी गर्न अनिच्छा देखाएका कारण किसानको पेशानै संकटमा परेको कुशवाहाले बताए ।

किसानहरुले आन्दोलनको पहिलो दिन आज रौतहटमा कृषियन्त्र सहित प्रर्दशन गरेका छन भने अन्य चरणका कार्यक्रमहरु गर्दै जाने आइटि किसान संर्घष समितिले जनाएको छ ।