मोरङमा एक दिने गाउँपालिका अध्यक्ष बनिन् १६ वर्षीया किशोरी

   २९ भाद्र २०७८, मंगलवार १३:१०  

२९ भदौँ, रौतहट । राष्ट्रिय बाल दिवसको अवसरमा मोरङको बुढीगंगा गाउँपालिकामा एक किशोरी एक दिनको लागि अध्यक्ष बनेकी छन् ।

बाल दिवसको उपलक्ष्यमा १६ वर्षीया सुस्मिता ऋषिदेवलाई एक दिने गाउँपालिका अध्यक्ष बनाइएको गाउँपालिकाका अध्यक्ष बालचन्द्र माझीले जानकारी दिए ।

माझीका अनुसार उनले आर्थिक र प्रशासनिकबाहेक गाउँपालिका अध्यक्षले गर्ने सबै काम गर्न पाउने छिन् । गाउँपालिकामा एकदिने अध्यक्ष बनेकी ऋषिदेवले आज ११ बजेदेखि कार्यभार सम्भालेकी हुन् । केही एजेण्डाहरुमा उनले निर्णय समेत गरिसकेकी छन् ।

गाउँपालिकामा बैठक बसेर ऋषिदेवलाई एकदिने अध्यक्ष चयन गरिएको अध्यक्ष माझीले बताए । बाल दिवसको अवसरमा गाउँपालिकाका अध्यक्ष बनेकी ऋषिदेवले विद्यालयहरु र स्वास्थ्य चौकीको निरीक्षण समेत गरेकी छन् ।