महिला टोली बंगलादेशसँग भिड्दै
२७ भदौ, रौतहट । राष्ट्रिय महिला फुटबल टोली आज बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दै छ । दशरथ रगंशालामा हुने नेपाल र बंगलादेशबीचको खेल अपराह्न ५ बजे सुरु हुनेछ ।
नेपालले पहिलो मैत्रीपूर्ण खेलमा बंगलादेशलाई २–१ ले पराजित गरेको थियो । पहिलो खेलमा दुवै डेब्यु खेलाडी प्रीति राई र सविता रानाले गोल गरेका थिए । एएफसी महिला एसियन कप–२०२२ छनोटको तयारीका लागि नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।
नेपाल र बंगलादेशबीचको हालसम्मको नतिजा हेर्दा नेपाल बलियो टोली हो । नेपाल हालसम्म बंगलादेशविरुद्ध अपराजित छ । अहिलेसम्म बंगलादेशविरुद्ध खेलेका सात खेलमध्ये नेपाल कुनैमा पनि पराजित भएको छैन ।
नेपालले पहिलोपटक सन् २०१० को दक्षिण एसियाली खेलकुद ९साग०मा बंगलादेशको सामना गरेको थियो । उक्त खेलमा नेपालले बंगलादेशलाई १–० ले हराएको थियो । नेपालका लागि जमुना राईले गोल गरेकी थिइन् ।
उज्वेकिस्तानमा आयोजना हुने एएफसी महिला एसियन कप–२०२२ छनोटका लागि नेपालले मैत्रीपूर्ण खेल खेल्न लागेको हो । छनोटमा नेपाल समूह ‘एफ’मा छ । नेपालको समूहमा फिलिपिन्स र हङकङ छन् ।
नेपालले फिलिपिन्ससँग उज्वेकिस्तानको जेएआर स्टेडियममा खेल्दै छनोट प्रतियोगिताको सुरुवात गर्नेछ । दुई देशबीचको खेल आउँदो सेप्टेम्बर १८ मा हुनेछ । त्यस्तै, हङकङसँग हुने दोस्रो छनोट खेल सेप्टेम्बर २१ मा हुनेछ ।
समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ । एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ । युवा खेलाडीले भरिएको नेपाली टोलीको सम्भावना बलियो छ ।