एल साल्भाडोरले बिटक्वाइनलाई दिए स्वीकृती

   २३ भाद्र २०७८, बुधबार ११:२२  

एल साल्भाडोर । पछिल्लो समय प्रख्यात र विवादास्पद मानिएको क्रिप्टोकरेन्सी बिटक्वाइनलाई एल साल्भाडोरले आधिकारिक मुद्राका रूपमा अपनाउन स्वीकृति दिएको छ ।

यो निर्णयसँगै विश्वभर बिटक्वाइनजस्ता डिजिटल करेन्सी नयाँ अवसर हुन् या खतरा बन्न सक्छन भन्नेमा बहस सुरु भएको छ । अब एल साल्भाडोरमा सबै व्यवसायीले मुद्राका रूपमा बिटक्वाइनलाई स्वकार्नैपर्ने हुन्छ ।

यता, सरकारले प्रत्येक नागरिकलाई ३० डलर बराबरको बिटक्वाइन प्रदान गर्ने हुँदा लाखौँ मानिसले सरकारको नयाँ ‘डिजिटल वालेट एप’ डाउनलोड गर्ने अपेक्षा गरिएको छ । त्यस्तै, बिटक्वाइनका समर्थकहरूले यसको मूल्य वृद्धिमा मद्दत गर्न विश्वभरबाट ३० डलर बराबरको डिजिटल क्वाइन खरिद गरिरहेका छन् ।

यो खबरले कतिपय नागरिकलाई उत्साहित बनाएको छ भने कतिचाहिँ खुसी छैनन्। किनकि, बिटक्वाइनको मूल्य गत वर्ष अप्रत्यासित रूपमा घटबढ भएको थियो । केवल १० हजार डलरप्रति क्वाइनबाट बढेर सन् २०२० सेप्टेम्बर मा यसको भाउ ६३ हजार डलरसम्म पुगेको थियो । तर, २०२१ को अप्रिलमा आएर फेरि ३० हजार डलरमा झरेको हो ।

पछिल्ला केही दिन यसको मूल्य ५१ हजारसम्मले वृद्धि भएको छ, यो एल साल्भाडोरको निर्णयबाट प्रभावित भएको हुन सक्ने बताइएको छ ।
एल साल्भाडोरभन्दा विपरीत विश्वका अरू मुलुकजस्तै चीन सरकारले भने बिटक्वाइनमाथि कडाइ गर्न थालेको छ ।

बीबीसी