नेपालमा थप ३११ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १९ हजार नाघ्यो

   १३ श्रावण २०७७, मंगलवार १७:०५  

साउन १३, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ११ जनामा कोरोना भाईरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ ।

आज ३ सय ११ जना थपिएसंगै नेपालमा कोरोनाबाट संक्रमित हुनेहरुको संख्या १९ हजार ६३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ३२ जनामा परीक्षण गर्दा ३११ जनामा कोरोना पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । त्यस्तै कोरोना भाइरसको संक्रमणबाट थप एक जना व्यक्तिको मृत्यु भएको छ ।
बझाङ बुंगल गाउँपालिका निवासी ६५ वर्षीय पुरुषको मृत्युपछि कोरोना पुष्टि भएको डाक्टर जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।

उनको गत साउन ९ गते घरमा मृत्यु भएको थियो । पछि परीक्षणको नतिजा आउँदा उनमा कोरोना पोजेटिभ देखियो ।

उनी दमका समेत रोगी रहेका र उनी गत असार २४ गते भारतको बैङ्गलोरबाट आएका थिए । उनी १४ दिनको क्वारेन्टिन बसाइपछि घर गएका थिए । तर गत साउन ९ गते उनको घरमा मृत्यु भयो । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।