सुनजस्तै १५ किलो धातु; परीक्षण गर्दा साढे १४ किलो चाँदी भएको पुष्टि

   १३ श्रावण २०७७, मंगलवार १५:०४  

साउन १३, रौतहट । आज बिहान ९ बजे प्रहरीले काठमाडौंको कमलादीबाट बरामद गरेको १५ किलो धातुमध्ये आधा किलोमात्र सुन भएको खुलेको छ । अरु साढे १४ किलो चाँदी भएको प्रहरीले बताएको छ ।

कमलपोखरीमा प्रहरीले चेकजाँच छलेर भागेको बा६च ५५१९ नम्बरको गाडी पिछा गर्दा अपराधिले फालेको झोलामा १५ किलो पहेँलो धातु भेटिएको थियो । उक्त धातुसहितको झोलामा दुईवटा पेस्तोल पनि भेटिएको थियो । तर गाडी धनी र सुनचाँदी मालिक को हो भन्ने खुलेको छैन ।

बरामद गरिएको धातुलाई नेपाल रत्न तथा आभूषण संघमा परीक्षण गर्दा आधा किलो मात्र सुन र बाँकी साढे १४ किलो चाँदी भएको पुष्टि भएको महानगरीय प्रहरी वृत्त दरबारमार्गका डीएसपी रञ्जन दाहालले जनाएका हुन् । महानगरीय प्रहरी परिसर काठमाडौंले बरामद सामान सार्वजनिक गरेको छ ।

गाडी र त्यसमा रहेका मानिसहरुको अहिलेसम्म पहिचान नभएको र खोजी भइरहेको प्रवक्ता डीएसपी राजकुमार केसीले जानकारी दिए ।