एक्लै पिसाब फेर्न निस्किएकी युवती बलात्कृत

   १३ श्रावण २०७७, मंगलवार १४:१७  

साउन १३, रौतहट । धुषामा सोमबार राति १२ बजेतिर एक्लै पिसाब फेर्न बाहिर निस्केकी युवती बलात्कृत भएकी छन् ।

धुषा क्षिरेश्वनाथ नगरपालिका वडा नम्बर ३ कि १८ वर्षीय दलित समुदायकी एक युवतीलाई स्थानीय ३० वर्षीय कलाम राइनले घरबाटै लगी बलात्कार गरेको पिडीत युवतीले बताएकी छन् ।

पिसाब फेर्न निस्केकी युवती घर नफर्केपछि उनको खोजतलास भएको पीडित परिवारको भनाइ छ । तर, राइनले ती बलात्कृत युवतीलाई बिहान ३ बजेतिर घर छोडन आएपछि घटना बाहिरिएको हो ।

युवतीले आफूलाई लगेर बलात्कार गरेको बताएपछि बालिकाका आफन्त र गाउँलेहरुले तत्कालै युवकलाई नियन्त्रणमा लिई कुटपिट गरी इलाका प्रहरी कार्यालय महेन्द्रनगरको जिम्मा लगाएका छन । कुटपिटबाट युवक घाइते भएका छन ।

स्थानीयले प्रहरीको जिम्मा लगाएपछि युवती र युवक दुबैको स्वास्थ्य परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरीक्षक पप्पु नायकले जानकारी दिए ।

‘युवक र युवतीको स्वास्थ्य परीक्षणसँगै युवकको उपचार पनि त्यहीं भइरहेको छ’ उनले भने । घटनाको विषयमा अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक नायकले बताए ।